जोडिनुहोस
  • होमपेज
  • सारुक ताम्राकारको मृत्युबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न कलाकार संघको माग

सारुक ताम्राकारको मृत्युबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न कलाकार संघको माग

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सदस्य तथा अभिनेता सारुक ताम्राकारको मृत्युलाई लिएर भइरहेका सार्वजनिक टिप्पणीप्रति चासो व्यक्त गरेको छ । आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकपछि संघले ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको छ ।

अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही दोषी देखिए सत्यतथ्य उजागर गरी कानुनको दायरामा ल्याउन माग गरिएको छ । अध्यक्ष निरौलाले संघको बैठकमा समेत यो प्रकरणबारे छलफल भएको बताए ।

केही दिनदेखि ताम्राकारको निधनलाई लिएर सामाजिक सञ्जालमा निर्देशकलगायतले भनेका भनाइहरु सार्वजनिक भइरहेका छन् । साथै, सामाजिक सञ्जालमार्फत कलाकार र अन्य प्रयोगकर्ताले पनि घटनाको छानबिन गरी यथार्थ पत्ता लगाउन माग राखेका छन् । असार २१ गते राति सारुक रातोपुलस्थित घरमा मृत भेटिएका थिए ।

उनको मृत्युपछि आफन्तले मालीगाउँ प्रहरी वृत्तमा घटनाको यथार्थ पत्ता लगाउन माग गर्दै निवेदन समेत दिएका थिए । जसअनुसार प्रहरीले सारुकले प्रयोग गर्दै आएको मोबाइल समेत अनुसन्धानका लागि लिएको छ । यतिबेला सामाजिक सञ्जालमा सारुकको मृत्युको कारण पत्ता लगाउन फिल्मकर्मीले माग गरेका छन् ।

मृत्युअघि सारुक राजीव गुरुङले निर्देशन गरिरहेको फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो फिल्ममा नम्रता श्रेष्ठ र रोयदीप श्रेष्ठ पनि शीर्ष कलाकारको रुपमा थिए । फिल्मका लागि भनेर निर्माताले कलाकारका लागि बुढानीलकण्ठमा घर समेत भाडामा लिएका थिए, जहाँ यी तीनैजना कलाकार बस्दै आएका थिए । उक्त घरलाई अहिले प्रहरीले सिल गरेको छ ।

पाका अभिनेता सानुकुमार ताम्राकारका छोरा समेत रहेका सारुकले रानी, मेरी मामु र इन्टुमिन्टु लण्डनमा फिल्ममा अभिनय गरेका छन् ।

चलचित्र कलाकार संघको विज्ञप्ति

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका