जोडिनुहोस
  • होमपेज
  • वेस्ट इन्डिजले भारतलाई हराएपछि शृङ्खला रोचक मोडमा

वेस्ट इन्डिजले भारतलाई हराएपछि शृङ्खला रोचक मोडमा

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र वेस्ट इन्डिजले भारतलाई ६ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजको जितपछि शृङ्खला रोचक मोडमा पुगेको छ । तीन खेलको शृङ्खला हाल १—१ को स्थितिमा छ ।

शृङ्खलाको पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल अगस्त १ तारिखमा खेलिने छ । दोस्रो खेलमा टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली भारतले ४०.५ ओभरमै अलआउट हुनुअघि एक सय ८१ रनमात्र बनाउन सकेको थियो ।

सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले ३६.४ ओभरमा चार विकेट गुमाएर जित हात पारेको थियो । घरेलु टोली वेस्ट इन्डिजका लागि कप्तान साई होपले अविजित ६३ रनको योगदान गरेका थिए । उनले ८० बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । म्यान अफ दी म्याचको पुरस्कार पनि उनले नै पाए ।

केइसी कार्टीले पनि टोलीका लागि अविजित ४८ रनको योगदान गरे । उनले ६५ बलको सामना गरी चार चौका हिर्काए । ओपनर ब्याट्सम्यान कायले मायर्सले ३६ रन बनाए । ब्रान्डन किङले पनि १५ रन जोडे । भारतीय बलर सार्दुल ठाकुरले तीन र कुलदिप यादबले एक विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको भारतले पालीको गतिलो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेन । ओपनर ब्याट्सम्यान ईशान किसन र शुभमन गिलले ९० रनको साझेदारी गरेका थिए । ईशान किसनले ५५ रन बनाए । उनले ५५ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए ।

अर्का ओपनर शुभमन गिलले ३४ रन जोडे । उनले ४९ बलको सामना गरी पाँच चौका प्रहार गरे । सूर्यकुमार यादबले २४ रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । वेस्ट इन्डिजका बलर रोमारियो सेफर्ड र गुडाकेश मोटीले तीन—तीन विकेट लिए । अल्जारी जोसेफले दुई विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका