जोडिनुहोस
  • होमपेज
  • कैदी मृत्यु प्रकरणः सात प्रहरी र आठ कैदी कारागार चलान

कैदी मृत्यु प्रकरणः सात प्रहरी र आठ कैदी कारागार चलान

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधवार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएका हुन् ।

कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधवार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।

कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरक्षिक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका–११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका–८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राईलाई कारागार पठाइएको छ ।

यस्तै, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

यस्तै खाँदबारी नगरपालिका–२ चेवा स्थायी घर भई जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, खाँदबारी नगरपालिका–९ गैरीगाउँ स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका–१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सचिन राई, मकालु गाउँपालिका–५ सोलाखानी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सुमन सारू मगरलाई पनि कारागार पठाइएको छ ।

त्यसैगरी, चैनपुर नगरपालिका–३ स्थायी घर भई जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली स्थायी घर भई जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राई, खाँदबारी नगरपालिका–६ तल्लो पाङ्ठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका इन्द्रध्वज घिमिरे र मादी नगरपालिका–५ वेतिनी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको श्रेस्तेदार केसीले जानकारी दिए ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।

गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका