जोडिनुहोस
  • होमपेज
  • जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ- रवि लामिछाने

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ- रवि लामिछाने

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।

काभे्रपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रीत भएर आफूहरु अघि बढेको जिकिर पनि गरे ।

“हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उनिहरुका काममा साथ दिन चाहान्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ”, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।

उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए ।

सभापति लामिछानेले भने, “अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।” उनले फरक प्रसङ्गमा बेथितिमा थिति बसाल्ने पार्टीलाई जनताले मन पराउनेमा जोड दिए ।

“हामी भइरहेको व्यवस्थालाई परिवर्तन गरी अवस्था बदल्न हिँडेका हौँ, अब निर्वासन र भूमिगत बन्नुपर्ने अवस्था छैन, जनता पनि दुःखी बन्नुपर्दैन, उहाँहरुले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउछन् ।”

रास्वपाले भ्रष्टाचारलगायत आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने नेता लामिछानेले बताए । “हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ”, उनले भने ।

कार्यक्रममा रास्वपा सांसद मनिष झाले हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढङ्गले अध्ययन गरी समाधान गर्दै जाने बताए । सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललागायतले नगर भेलालाई शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका