जोडिनुहोस
  • होमपेज
  • गोरखामा चीन प्रवेशका लागि ‘बोर्डर पास’ वितरण सुरु

गोरखामा चीन प्रवेशका लागि ‘बोर्डर पास’ वितरण सुरु

गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दालाई चीनको सीमा प्रवेश अनुमति पत्र बोर्डर पास वितरण सुरु भएको छ । चुमनुब्री–३ सिर्दिबासको फिलिमस्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिबास पुगेको थियो । सो टोलीमा नायक सुब्बा विश्व रोका मगर र कम्प्युटर अपरेटर सीता गुरुङ छन् । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताए ।

उक्त पासको म्याद एक बर्षको हुनेछ । ‘हामीले वितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि नवीकरण गर्नुपर्ने हुन्छ’, उनले भने । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उनले बताए । नेपाल भरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उद्देश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।

गृह मन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । विगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशन पश्चात पास वितरण थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दा र नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् । उत्तरी गोरखाका बासिन्दा सामान किनमेलका लागि विगतमा तिब्बत जाने गर्थे । तर पछिल्लो समय सीमा नाकाबाट आवतजावत सहज नहुँदा समस्या थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका