जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ ।

सुपर ओभरमा पुगेको खेलमा ओमानले नेपाललाई हराएको हो। यससँगै नेपाल उपविजेतामा सीमित बनेको छ ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए ।

कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन ।

सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र मोहम्मद नदिम ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए । दोस्रो बलमा नदिमले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए ।

चौथो बलमा नदिमले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फ्याँले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा नदिमले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो । अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो ।

त्यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो । नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानको विकेट लिएका थिए ।

लङअनमा आएन खान रोहित पौडेलबाट ८ रनमा क्याच आउट भएका थिए । अर्को बलमा एज लागेर सकिल अहमद क्याच आउट भएपछि तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो । चौथो बलमा फयाज बटले एक रन लिए । अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा चौका भएको थियो ।

अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो । ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए ।

अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा आउट भए । उनी गुलशन झाको बलमा सन्दीप जोराबाट प्वाइन्टमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि अकिब र कश्याप प्रजापतिले ६७ रनको साझेदारी गरेका थिए । कप्तान जिशान मकसुद १८ बलमा २ चौका र १ छक्कासहित २६ रनमा क्याच आउट भए । जिशान विवेक यादवको बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा रोहित पौडेलबाट क्याच आउट भएका थिए ।

अभिनाश बोहराको १७ औं ओभरको पाँचौं बलमा कश्याप प्रजापति रोहित पौडेलबाट क्याच आउट भए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नेपालका सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेपालका गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए ।

एक समय सुरुवाती १० ओभरमा ६०–४ को अवस्थामा रहेको नेपाललाई पाँचौं विकेटका लागि गुलशन र रोहित पौडेलले ७८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अन्तिम ७ ओभरमा १ सय १८ रन बनाएपछि ओमानलाई विशाल लक्ष्य दिएको हो ।

गुलशनले २० बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । रोहितले ३६ बलमा टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए ।

बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख एक्स्ट्रा कभरमा कश्याप प्रजापतिबाट ६ रनमा क्याच आउट भए ।
कुशल भुर्तेलले ब्यक्तिगत १८ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर फयाज बटको पाँचौं ओभरको अन्तिम बलमा कुशलको क्याच कभरमा आयन खानले छाड्न पुगेका थिए ।

तर कुशलले त्यसलाई भरपूर्ण फाइदा उठाउन सकेनन् । अकिब इल्यासले टोलीको योजना अनुसार डीप स्क्वायर लेगमा कुशल भुर्तेललाई मेहरान खानबाट क्याच आउट गराएका थिए । कुशल भुर्तेल २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।

सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । अकिबले पुन टोलीको योजना अनुसार कुशल मल्ललाई आउट गरे । कुशलको कमजोरीलाई ध्यानमा राख्दै अफ बलमा अकिबले बोल्ड आउट गरेका थिए ।

कुशल मल्ल ३ रनमा बोल्ड आउट भए । एक समय नेपाल १० ओभरमा ६०–४ को अवस्थामा थियो । त्यसपछि गुलशन र रोहितको साझेदारीले खेलमा फर्किएको थियो ।

बिलाल खानको बलमा गुलशन स्लिपमा सकिल अहमदबाट क्याच आउट भएका थिए । बिलालकै बलमा विवेक यादव एक रनमा कट एण्ड बोल्ड आउट भए ।

ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सुरुवाती ३ ओभरमा ६ रन खर्चेका जिशानले अन्तिम ओभरमा २१ रन खर्चेका थिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । फयाज बटले ४ ओभरमा ६३ रन खर्चिदा विकेट लिन सकेनन् ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो ।

नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो । उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो ।

सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका