जोडिनुहोस
  • होमपेज
  • कोटेश्वरमा बन्ने भयो ‘अन्डरपास’ र ‘फ्लाइओभर’

कोटेश्वरमा बन्ने भयो ‘अन्डरपास’ र ‘फ्लाइओभर’

काठमाडौँ । कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राधिका प्रजापतिले कोटेश्वर–जडीबुटी सडकखण्डमा अन्डरपास र फ्लाइओभर निर्माण हुने बताउँदै त्यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले अध्ययन गरेर सोको प्रतिवेदन सडक विभागलाई बुझाएको जानकारी दिइन् ।

कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम समस्या समाधान उपायसहितको अध्ययन गर्न सरकारले जाइकालाई जिम्मेवारी दिएको थियो । भेहिकल अन्डरपास र फ्लाइओभर निर्माणसँगै काठमाडौँको ट्राफिक व्यवस्थापनको टाउको दुखाइका रूपमा रहेको सो ठाउँको समस्या स्थायी रूपमा समाधान हुने विश्वास गरिएको छ ।

अहिले कोटेश्वर र जडीबुटी क्षेत्रमा कार्यालय समयअघि र पछि घन्टौँ ट्राफिक जाम हुने अवस्था छ । उनका अनुसार अन्डरपास र फ्लाइओभर निर्माण गर्न ऋण सम्झौताका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

यसका लागि करिब २५ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उनले भनिन्, “अध्ययन प्रतिवेदन अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण भागमुनि अन्डरपास र जडीबुटीदेखि कोटेश्वर चोक क्षेत्रमा फ्लाइओभर निर्माण हुने छ ।”

अध्ययन अनुसार अन्डरपासले विमानस्थलको धावनमार्गतर्फको भाग छुने छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको जग्गामा अन्डरपास निर्माण तयार भए पनि केही सर्त राखेको महाशाखाको भनाइ छ ।

अध्ययन अनुसार अन्डरपास र फ्लाइओभर निर्माणपछि चक्रपथ–कोटेश्वर चोक हुँदै ललितपुर जाने र भक्तपुरबाट कोटेश्वर हुँदै तीनकुनेतर्फ जाने सवारीसाधनलाई अवरोध नहुने भएकाले सो क्षेत्रमा जाम नहुने विश्वास गरिएको सिडिई प्रजापतिले बताइन् ।

सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममै कोटेश्वर–जडीबुटी क्षेत्रको जाम हटाउनेबारे ठोस परियोजना अगाडि बढाउने घोषणा गरे पनि अहिलेसम्म त्यसले मूर्त रूप लिन सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका