जोडिनुहोस
  • होमपेज
  • थोक बजारमा सस्तियो तरकारी

समाचार

थोक बजारमा सस्तियो तरकारी

थोक बजारमा सस्तियो तरकारी

काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २० रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सतुङ्गलकी कविता क्षेत्रीले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको अनुभव सुनाए । काउली अहिले प्रतिकेजी ६० रुपियाँमा किन्नुपर्छ तर यहाँ त त्यही काउली ६० रुपियाँमा तीन केजी आयो, आलु, बन्दा, गोलभेँडा चम्सुर, पालुङको साग त्यत्तिकै सस्तो उनले आफ्नो अनुभव सुनाए ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढीको अन्तर भएको अनुभव उहाँसँगै तरकारी किन्दै गरेका विक्रम पुडासैनीले सुनाए । कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो २०र२२ दिनको बिचमा मौसमी तरकारीको भाउ शतप्रतिशत सस्तिएको बताए । उनले भने, “अहिले बजारमा तरकारीको माग नै कम छ आएको तरकारी पनि बिक्री गर्न गाह्रो छ । थोक बजारमा मौसमी मात्रै होइन, बेमौसमी तरकारी पनि सस्तिएको छ ।”

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आगमन पुरानो लयमा फर्किएसँगै भाउ सस्तिएको बताए । उनका अनुसार तिहारपछि बजारमा दैनिक औसतमा आठ सय मेट्रिक टनको हारहारीमा तरकारी भित्रिने गरेको छ ।

समितिका अनुसार अहिले स्थानीय उत्पादन हुने भएकाले तरकारीको माग पनि कम हुने गर्छ । बजारमा स्वदेशी उत्पादित तरकारी धेरै भएकाले भारतबाट हरिया तरकारी कम परिमाणमा आएको छ । अहिले आलु, प्याज गोलभेँडा कागतीलगायतका तरकारी भारतबाट आइरहेको छ । हरिया तरकारीको भाउ सस्तो भएको र मौसमी तरकारी अझै सस्तिने क्रममा रहेको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका