जोडिनुहोस
  • होमपेज
  • बैटारीमा १०३ रोपनीमा अकबरे खुर्सानी खेती, ३७ लाख कमाइ गर्ने लक्ष्य

बैटारीमा १०३ रोपनीमा अकबरे खुर्सानी खेती, ३७ लाख कमाइ गर्ने लक्ष्य

गोरखा । गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् ।

अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए । वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ ।

यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेका छन् । ‘अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, आफैले नसर्रीमा उत्पादन गरेको बेर्ना लगाएको छु, अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ’, उनले भने ।

करिब रु चार लाख लगानीमा सुरु गरेको अकबरे खुर्सानी खेतीबाट वार्षिक रु ३७ लाखभन्दा बढी आम्दानी हुने अनुमान रहेको उनले बताए । ‘बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन सुरु हुन्छ’, उनले भने, ‘उत्पादन सुरु भएपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ ।’ उनले चार जनालाई फार्ममा रोजगारी समेत दिएका छन् ।

उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उनले बताए । ‘प्रतिकिलो बजारमा न्यूनतम रु दुई सय ५० मा सजिलै बिक्री हुन्छ’, उनले भने, ‘रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरु माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ ।’

किसान भट्टले आफूले उत्पादन गरेको खुर्सानी चितवनस्थित अचार उद्योगहरूमा धेरै बिक्री हुने बताए । त्यसबाहेक जिल्लाभित्रका गोरखा सदरमुकाम, काठमाडौँको कालिमाटी, तनहुँको खैरेनीटार, पोखरा,लगायतका क्षेत्रमा पनि बिक्री हुने गर्दछ । उनले कृषि ज्ञान केन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटो परीक्षण गरी उक्त ठाउँमा अकबरे खुर्सानीको खेती सुरु गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका