जोडिनुहोस
  • होमपेज
  • पोखरा ल्याइयो ७ वटा मुर्रा राँगा, फूलमालासहित स्वागत

पोखरा ल्याइयो ७ वटा मुर्रा राँगा, फूलमालासहित स्वागत

भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ । भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।

‘यहाँ ल्याइएका राँगालाई पहिलो चरणमा २१ दिन क्वारेन्टिनमा राखेर त्यसपछिमात्रै विर्य संकलनका लागि तयार हुनेछन्,’ उनले भने । गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल(भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा बुधबार नेपाल भित्रिएका हुन् । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ ।

भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका