जोडिनुहोस
  • होमपेज
  • नदीजन्य पदार्थको ठेक्का नलागेपछि सुदूरपश्चिम सरकारले गर्‍यो कार्यविधि संशोधन

नदीजन्य पदार्थको ठेक्का नलागेपछि सुदूरपश्चिम सरकारले गर्‍यो कार्यविधि संशोधन

सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरेको छ । प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी र ५० प्रतिशत रकम अग्रिम तिर्नुपर्ने व्यवस्थाकै कारणले नदीजन्य पदार्थ उत्खननको ठेक्का लाग्न नसकेको गुनासो स्थानीय तहहरुले गरेका थिए ।

शुक्रबार बसेको सुदूरपश्चिमको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि संशोधन गर्दै स्वीकृत ठेक्का रकमको २० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । ठेक्कामा सम्बन्धित फर्मले कबोल गरेको अंकको कर वापतको रकम भने स्थानीय तहलाई अग्रिम बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयका राजस्व शाखा प्रमुख धनबहादुर रोकायाले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० संशोधन गर्दै अग्रिम बुझाउनुपर्ने रकम ५० प्रतिशतबाट २० प्रतिशतमा झारिएको बताए ।

ठेकेदारले कबोल रकमको ५० प्रतिशत अग्रिम बुझाउनुपर्ने प्रावधानका कारण कैलाली, कञ्चनपुरसहितका अधिकांश स्थानीय तहले नदीजन्य वस्तु उत्खननको ठेक्का लगाउन सकेका छैनन् । स्थानीय तहहरुको गुनासोपछि कार्यविधि संशोधन गरेर प्रदेश सरकारले निकास दिएको रोकायाले बताए ।

तर नदीजन्य वस्तुको वृद्धि गरेको रोयल्टी भने घटाइएको छैन । नदीजन्य पदार्थको ठेक्का रकम एक सय तीन रुपैयाँबाट बढाएर दुई सय ६ रुपैयाँ पुर्‍याइएको थियो । ‘मूल्य हेरफर गर्न कार्यविधि संशोधन गरेर मात्र पुग्दैन । त्यसका लागि मूल ऐनमा भएको व्यवस्था नै परिवर्तन गर्नुपर्ने हुन्छ’, रोकायाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका