जोडिनुहोस
  • होमपेज
  • कालीगण्डकी करिडोरः बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न शुरु

कालीगण्डकी करिडोरः बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न शुरु

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएकोे छ ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो ।

बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम कोड ९बिटुमिन० बिछ्याउन थालिएको जानकारी दिए । “प्राइमकोर्ड बिछ्याएको २४ घण्टापछि चिप्ससहित पहिलो चरणको कोड बिछ्याइन्छ”, उनले भने , “दोस्रो चरणमा सेकेण्ड कोड बिछ्याएपछि डिबिएसडी पिच पूरा हुन्छ ।”

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट÷पिएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भए पनि लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीसहित उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए ।

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र थालिएको हो । “गत असार महिनामै बेस राख्न र कालोपत्र गर्नेबाहेकका सबै काम सकिएको थियो”, उनले भने , “सात दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने काम अबको एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।”

यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुने छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

“बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ”, उनले भने , “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”

करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बेनी–जोमसोम–कोरला सडक योजनाको कार्यालयले जनाएको छ । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका