जोडिनुहोस
  • होमपेज
  • उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ छ, भोलि नै रोकिन पनि सक्छ  चिरिबाबु महर्जन

उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ छ, भोलि नै रोकिन पनि सक्छ  चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापन कामचलाउ प्रकृतिको मात्र रहेकाले जुनसुकै दिन रोकिन सक्ने बताएका छन् ।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले फोहोर व्यवस्थापनलाई दिगोपन दिन जरुरी रहेको बताए ।

उपत्यकाको फोहोर व्यवस्थापन एकदमै मार्जिनल टाइपले भइरहेको छ । भरे पनि रोकिन सक्छ । भोलि पनि रोकिन सक्छ । केवल काम चलाउको रुपमा भइरहेको छ । यसलाई दिगोपन दिनुपर्छ’, उनले भने ।

हाल काठमाडौं उपत्यकाका दुईवटा महानगरपालिका र १६ वटा नगरपालिकाको फोहोर धादिङको बन्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । त्यहाँ दिनको लगभग १२ सय मेट्रिक टन फोहोर फाल्ने गरिएको छ । त्यहाँ फाल्ने फोहोरमध्ये ६५ प्रतिशत काठमाडौं महानगरपालिका र १९ प्रतिशतसम्म ललितपुरको हुने गरेको मेयर महर्जनले बताए ।

ललितपुर महानगरपालिकाबाट उत्पादित फोहोरको आफैं व्यवस्थापन गर्ने कि भन्ने सोचे पनि तत्काल सम्भव नहुने बताए । ‘एक त ललितपुर महानगरपालिकाको जति पनि क्षेत्र छ, त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको रुटमा पर्छ । दोस्रो कुरा, हामीले महांकाल गाउँपालिकामा पनि फोहोरमैला व्यवस्थापन गर्ने भनेर कोशिस गयौँ । तर त्यहाँ पनि सोसल इस्युहरु निस्कियो’, उनले भने ।

सरकारले काठमाडौं उपत्यकाको फोहोर फाल्नका लागि बञ्चरेडाँडामा पूर्वाधार बनाएको छ । तर त्यहाँ कुहिने र नकुहिने फोहोर सही ढंगले व्यवस्थापन नगर्दा ५० वर्षका लागि डिजाइन गरेको पूर्वाधार १० वर्ष पनि नटिक्ने जोखिम देखिएको उनको भनाइ छ ।

‘बञ्चरेडाँडा ५० वर्षको निमित्त गरेको डिजाइन हो । तर अहिलेकै हिसावमा गयो भने त्यो ५० वर्ष होइन १० वर्षपनि टिक्दैन । ५० वर्षसम्म आयु टिकाउनकै निमित्त पनि ओखरपौवाको फोहोर सफा गरेर त्यहाँ निस्किएको सोसल इस्युलाई सम्बोधन गरेको खण्डमा यसको आयु बढ्छ’, उनले भने । यो विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको र उनी सकारात्मक रहेको महर्जनले बताए ।

अहिले जसरी नै फोहोर फाल्ने हो भने त्यहाँको ल्याडफिल साइट छिट्टै भरिने उनले बताए । ‘अहिले त्यहाँको जुन अवस्था छ, एक त ओखरपौवाले गर्दा त्यहाँको जनजीवनलाई नै अस्तव्यस्त पारिएको छ । काठमाडौं उपत्यकाको फोहोरले त्यहाँको स्थानीय जनतालाई दुःख दिन पाइँदैन । दुःख दिनु हुँदैन’, उनले भने ।

बन्चरेडाँडा क्षेत्रका बासिन्दाको समस्या समाधान गर्न काठमाडौं उपत्यकाका सबै नगरपालिकाले दामासाहीले खर्च व्यहोर्नुपर्ने मेयर महर्जनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका