जोडिनुहोस
  • होमपेज
  • कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

भेरीगङ्गा । कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्बजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को प्रदेशस्तरीय नतिजाअनुसार कर्णालीमा तीन लाख दुई हजार परिवारले कृषि पेसा गर्दै आएकामा जम्मा ३० प्रतिशत अर्थात् ९० हजार छ सय मात्रै कृषिमा आत्मनिर्भर छन् । अधिकांश परिवारलाई भने वर्षभरि खाना नपुग्ने गरेको तथ्याङ्कमा उल्लेख छ । कर्णालीमा एक लाख १७ हजार चार सय ११ हेक्टर जग्गामा ८२ दशमलव ६३ प्रतिशतले कृषि कर्म गर्ने गरिएको पाइएको तथ्याङ्क छ ।

कृषिमै आश्रित ठूलो सङ्ख्या भए पनि उत्पादनमा भने आत्मनिर्भर हुन नसकेको भन्दै सरकारले अब बनाउने नीति उत्पादनमुखी बनाउनुपर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । उनले भने, ‘कर्णालीमा अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन्, तर उत्पादनमा भने थोरै सङ्ख्यामा मात्रै आत्मनिर्भर छन् । आगामी दिनमा सरकारले उत्पादनमुखी योजना बनाउन आवश्यक छ ।’

तथ्याङ्कमा पुरानाभन्दा नयाँ प्रविधिको विस्तार भने भएको पाइएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको छ । आठ दशमलव एक प्रतिशत फलामे हलो, पाँच दशमलव एक प्रतिशत ट्याक्टर र चार दशमलव पाँच प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए ।

तीन दशकमा नेपालमा कृषक परिवार सङ्ख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाउने गरिएको छ । यस्तै गाईगोरु र राँगाभँसीभन्दा खसीबाख्रा, सुगुर बङ्गुरपालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका