जोडिनुहोस
  • होमपेज
  • मङ्सिरसम्म पाँच अर्ब रकमान्तर

मङ्सिरसम्म पाँच अर्ब रकमान्तर

चालु आर्थिक वर्षको पाँच महिनामा अर्थ मन्त्रालयले करिब पाँच अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले साउनदेखि मङ्सिरसम्म चार अर्ब ७६ करोड ३२ लाख रुपियाँ रकमान्तर भएको जनाएको हो ।

पुँजीगत शीर्षकमा विनियोजन गरिएको एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा गरिएको रकमान्तर यसमा समेटिएको छ ।

मन्त्रालयले यसबिचमा सबैभन्दा धेरै असोजमा रकमान्तर गरेको छ । उक्त महिनामा मात्रै तीन अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ । जसमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एक अर्ब ९८ करोड रुपियाँ रकमान्तर गरेर एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम उपशीर्षकमा सारिएको छ । त्यस्तै सोही महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सडक बोर्डका लागि एक अर्ब रुपियाँ रकमान्तर भएको छ ।

मन्त्रालयका अनुसार चालु आवको सुरुवाती महिनामै ५१ करोड १३ लाख रुपियाँ रकमान्तर भएको छ । उक्त महिना सबैभन्दा धेरै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पुनर्संरचना हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षणका लागि ४६ करोड ४५ लाख रुपियाँ रकमान्तर गरिएको छ । त्यस्तै भदौमा ७५ करोड ५९ लाख रुपियाँ रकमान्तर भएको छ । भदौमा सबैभन्दा धेरै कृषि तथा पशुपन्छी मन्त्रालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २१ करोड १४ लाख रुपियाँ रकमान्तर भएको छ ।

कात्तिकमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उपशीर्षकबाट एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमका लागि ४३ करोड ९९ लाख रुपियाँको अर्को रकमान्तर भएको छ । मङ्सिरमा सडक तथा ट्राफिक सुरक्षा उपशीर्षकबाट राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना कार्यक्रमका लागि तीन करोड रुपियाँ रकमान्तर गरिएको छ ।

अर्थ मन्त्रालयले यसबिचमा एक करोड नौ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ । जसमध्ये एक करोड रुपियाँ इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँका दरले दिइएको निकासा रहेको छ । बाँकी नौ लाख ८५ हजार रुयिपाँ भने राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत गरिएको निकासा रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका