जोडिनुहोस
  • होमपेज
  • तातोपानी कुण्डमा पूर्वाधार निर्माण

तातोपानी कुण्डमा पूर्वाधार निर्माण

प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानीमा स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण गरिएको हो ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले एउटै पक्की भवनमा महिला र पुरुषका लागि कपडा फेर्ने छुट्टाछुट्टै दुई वटा कोठा बनाइएको जानकारी दिए । ‘जस्तापाटाको छाना भएको टहरामा पाहुनालाई कपडा फेर्न असजिलो भएको थियो’, उनले भने, ‘कपडा झुण्डाउने, बेञ्चमा बसेर कपडा फेर्न मिल्ने कोठा भएपछि सहज भएको छ ।’

कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैँचा बनाएर सौन्दर्यकरण गरिएको छ । बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फूल रोपेर बगैँचा बनाइएको छ । शरीर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्वारलाई मौलिक बनाउन भक्तपुरे इँटाको प्रयोग गरिएको छ ।

पर्यटन बोर्ड पोखराका प्रमुख नवीन पोखरेलका अनुसार तातोपानी कुण्डको सौन्दर्यकरण गर्न गत आर्थिक वर्ष २०७९(८० मा रू १५ लाख बजेट विनियोजन भएको थियो । सौन्दर्यकरणका लागि कुण्ड समितिले थप तीन लाख लागत साझेदारी गरेको उनले जानकारी दिए ।

दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र बुद्धको मूर्तिसहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पहुनाहरू आउने गर्छन् ।

कुण्ड परिसरको वातावरणलाई रमणीय र आकर्षक बनाउन सौन्दर्यकरणले सहयोग पुगेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए । विरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने बिरामीहरू बताउँछन् ।

प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । चिसोयामको सुरुआतसँगै कुण्डमा स्नानका लागि आउने भक्तजनको चाप बढेको छ ।

तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार जनाले स्नान गर्नसक्ने क्षमता छ । एक दिनमा दुई पटक दुईरदुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर पाँचरदश मिनेटसम्म पछ्यौरा, ब्लाङ्केट, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ ।

सात दिन स्नानका लागि प्रतिव्यक्ति रू तीन सय ५० शुल्क तोकिएको छ । प्रवेशशुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्ने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आइएको समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । विगत १३ वर्षदेखि सरस्वती माविका १६ मध्ये चार जना निजी शिक्षकको तलबका लागि कुण्डले मासिक रू एक लाखका दरले सहयोग गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका