जोडिनुहोस
  • होमपेज
  • क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

भोजपुर । बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि यहाँका तीन सय १८ परिवारले पानीको समस्या भोग्दै आएका थिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थलको पुनःनिर्माण गरेर बस्तीमा पानी पुर्याएको हो । बन्द अवस्थामा रहेको आयोजना सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजनाका अध्यक्ष उद्धवराज त्रितालले बताए ।

सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घर परिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका छन् । अहिले सबै परिवारमा पाइप जडान कार्यसम्पन्न भएकाले केही दिनभित्र सबै परिवारमा पानी वितरण हुने उनले बताए ।

‘निर्माणको अन्तिम अवस्थामा रहेको आयोजना बढीले बगाएपछि हामीलाई पानीको समस्या थियो’, अध्यक्ष त्रितालले भने, ‘पुनः निर्माण गरेर पानी बस्तीमा पुर्याएका छौँ । अहिले यहाँको पानीको समस्या हटेको छ ।’

बाढीले क्षति पुगेको आयोजनाको पुनःनिर्माण भएर बस्तीमा पानी पुगेपछि सहज भएको स्थानीयवासी ललित राईले बताए । पानी नहुँदा समस्या भइरहेको अवस्थामा कार्यालयको सक्रियताले पुनः बस्तीमा पानी पुगेपछि सहजता भएको उनको भनाइ छ । ‘बाढीले आयोजना बगाएपछि बस्तीमा पानीको हाहाकार नै भएको अवस्था थियो’, उनले भने, ‘आयोजना बगाएको करिब पाँच महिनामा पुनःनिर्माण भएको छ । बस्तीमा पानी पुगेपछि धेरै सहज भएको छ ।’

बाढीले क्षति भएको आयोजनाको पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएकाले अब उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए ।

‘निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा यहाँ बाढीले क्षति पुर्यायो’, उनले भने, ‘अहिले पानी पुनःनिर्माण गरेर बस्तीमा पानी पुर्याएका छौँ । निर्माण काम पूरा भएकाले यो योजनालाई उपभोक्ता समितिलाई हस्तान्तरणको तयारी भइरहेको छ ।’ कूल अनुमानित ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा आर्थिक वर्ष २०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका