जोडिनुहोस
  • होमपेज
  • अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली

अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली

राममन्दिर उद्घाटनको दिन आज । अयोध्याको चर्चा संसारभर चुलिएको छ । राममन्दिरसँग जोडिएका समाचारले विश्वभरका संचारमाध्याममा प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या लगिएको छ । आज हुने मन्दिर उद्घाटनका लागि सरकारी संयन्त्र, मन्दिर व्यवस्थापन पक्ष, निर्माण समितिलगायत सबै व्यस्त छन ।

त्यसमा एक नेपाली पात्र पनि मन्दिर उद्घाटनको तयारीमा निकै व्यस्त छन् । उनी हुन्, झापा मेचीनगरका दुर्गाप्रसाद गौतम । राममन्दिरका मुख्य आचार्य हुन् उनी । मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधानको तयारीमा उनको व्यस्तता बढेको हो । ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन् । उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन् ।

तर, मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० अगस्ट ५ मा मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास गरेका थिए । त्यसको विधिविधान र पूजापाठमा गौतमको सक्रिय सहभागिता थियो । भूमि पूजापछि पनि मन्दिर निर्माणका क्रममा धेरै पूजापाठहरू हुँदै आएका छन् । मन्दिरमा ढोका राख्दा होस् वा नवशिलाको प्रयोगपूर्वको प्रायः सबैजसो पूजा गौतमले गराउँदै आएका छन् ।

‘२०२० को १८ अप्रिलदेखि मन्दिरमा भइरहेका हरेक यज्ञ, हवन र अनुष्ठानहरूको म साक्षी छु,’ गौतमले भने, ‘मेरा लागि धेरै गर्वको विषय हो, नेपालबाट आएर यहाँ प्रभु रामको सेवा गर्ने मौका पाएको छु ।’ मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा र त्यससँग जोडिएका पूजा, हवन र यज्ञको तयारीमा आफू प्रत्यक्ष रूपले जोडिन पाउँदा खुसी मिलेको उनले बताए ।

मेचीनगर–१ का खड्गप्रसाद गौतमका जेठा छोरा दुर्गाप्रसाद सन् २००६ देखि अयोध्यामा छन् । उनले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् । उनले हाल त्यहीं विद्यावारिधि पनि गरिरहेका छन् । अयोध्यास्थित श्रीराम वेद विद्यालयमा विज्ञापन निस्केपछि उनी त्यसमा प्रतिस्पर्धा गरेर अयोध्याको यात्रा थालेका थिए । वेद विद्यालयमा आचार्य रहेका उनलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले मन्दिरको जिम्मेवारीमा पनि जोडेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका