जोडिनुहोस
  • होमपेज
  • एक्कासी पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो, भागेर जोगिए मलामी

एक्कासी पानीको बहाब बढ्दा जल्दै गरेको शव बगायो, भागेर जोगिए मलामी

सोलुखुम्बु – लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासी बन्द भएर खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको छ।

सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने उक्त आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै फर्किँदा आज लिखु खोलामा जलाउँदै गरेको रामेछापको उमाकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासी रोकिएर पानी खोलातर्फ नै फर्किदा उमाकुञ्ड गाउँपालिका–१ बाल्दिङ स्थित खोलामा जलाउँदै गरेको शव बगाएको हो।

उनले भने, “हामीलाई प्राप्त जानकारीअनुसार मेसिन ट्रिप खाएर, बाँधको पानी खोलातर्फ फर्किदा खोलामा जलाउँदै गरेको शव बगाएर बेपत्ता भएको रहेछ, यस विषयमा हामी अनुसन्धान गर्दै छौँ।”

उनले घटनास्थल टाढा भएकाले जिल्लाबाट खटिएका प्रहरी पुग्न बाँकी रहेको बताए। सोलुको किन्जा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको उनले बताए।

आधा जलिसकेको शव खोलाले बगाएर बेपत्ता बनाएको छ भने मलामीले भागेर ज्यान जोगाएको लिखुपिकेका राजेन्द्र बस्नेतले बताए। उनले भने, “यो आयोजनाको लापरबाही हो, मलामी गएका केही मानिस पनि सम्पर्कमा आएका छैनन्, यो विषयमा हामी जानकारी लिँदैछौँ।”

घटनास्थल रामेछापमा पर्ने भए पनि सोलुखुम्बुको सिमाना भएकाले प्रहरी चौकी किन्जाबाट प्रहरी टोली खटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ९खत्री०ले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। आयोजनाका सम्पर्क अधिकृत दीपक नेपालका अनुसार विद्युत् मेसिन एक्कासी बन्द भएर बाँधतर्फको पानी खोलामा नै फर्किदा उक्त घटना भएको हो। कूल ५५ मेगावाट क्षमताको सो आयोजनाले अहिले पानी पर्याप्त नहुँदा आठ मेगावाट मात्रै विद्युत् उत्पादन गर्दै आएको उनको भनाइ छ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमाना हुँदै बग्ने लिखु खोलामा निर्माण गरिएको उक्त जलविद्युत् आयोजनाको हेडवक्र्स सोलुखुम्बुमा पर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताए। एमभी दुगडद्वारा प्रवर्द्धित उक्त आयोजना ग्लोबल हाइड्रोपावर एशोसियट लिमिटेडले निर्माण गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका