जोडिनुहोस
  • होमपेज
  • ६१ किलो सुनबारे राजश्व अनुसन्धान विभागका प्रमुखसँग उच्चस्तरीय समितिको छलफल

६१ किलो सुनबारे राजश्व अनुसन्धान विभागका प्रमुखसँग उच्चस्तरीय समितिको छलफल

सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरुसँग सुन प्रकरणबारे सोधपुछ गरेको समितिका एक अधिकारीले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन २ साउनमा विभागले बरामद भएको थियो ।

१९ दिनसम्म विभागले अनुसन्धान गरेपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी लाई बुझाइएको थियो । ‘घटनाको सुरुवाती अनुसन्धान विभागले गरेकाले त्यसबारे केही विषयहरु बुझ्न उहाँहरुलाई बोलाएका थियौं’, समितिमा एक सदस्यले भने ।समितिले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालसँग पनि सोधपुछ गरेको समितिले जनाएको छ ।

समितिले चुडामणि उप्रेती गोरे मुछिएको ३३ किलो सुन प्रकरणदेखि विद्युतीय सिगरेट भेपमा लुकाएर भएको सुन तस्करीसहितका घटनाहरुलाई जोडेर छानबिन गरिरहेको छ । गृह मातहतको निकायमार्फत अनुसन्धान अघि बढाउँदा राजनीतिक नेक्सस नखुलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाइरहेका बेला सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । तीन महिनाको अवधिमा काम नसकिएपछि समितिको म्याद पुनः थप भएको छ । यो अवधिमा समितिले आफ्नो कामलाई निष्कर्षतिर लगिरहेको छ । त्यसक्रममा विभिन्न निकायका पदाधिकारीसँग समितिले सोधपुछ गरिरहेको समितिका एक सदस्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका