जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानका पुरातात्त्विक क्षेत्रमा व्यवस्थित रुपमा लुटपाट भैरहेको शोधकर्ताको दाबी

अफगानिस्तानका पुरातात्त्विक क्षेत्रमा व्यवस्थित रुपमा लुटपाट भैरहेको शोधकर्ताको दाबी

अफगानिस्तानका दर्जनौँ पुरातात्त्विक स्थलमा व्यवस्थित रूपमा लुटपाट हुँदै आएको शोधकर्ताले दाबी गरेका छन् । लुटपाट हुन दिनका लागि ती क्षेत्र डोजर लगाएर ध्वस्त पार्ने काम भएको अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरूले बताएका हुन् ।

भूउपग्रहबाट खिचिएका तस्बिरको विश्लेषणले त्यस्ता घटनाको निश्चित प्रमाण उपलब्ध गराएको शोधकर्ताले बताएका छन् । लुटलाई सहज बनाउने कामको थालनी अघिल्लो सरकारकै पालामा शुरु भएको र सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि पनि निरन्तर रहेको उनीहरूको भनाइ छ ।

त्यसबेला पूर्व राष्ट्रपति अशरफ घानी नेतृत्वको सरकार थियो । ध्वस्त पारिएका संरचनाहरू कांस्य युगको उत्तरार्द्ध र फलामे युगका समेत रहेका छन् । त्यो भनेको एक हजार ईसापूर्वभन्दा अगाडिको बेलाको हो ।

उनीहरूले पहिचान गरेका धेरैजसो पुरातात्त्विक क्षेत्रहरू उत्तरी अफगानिस्तानको बल्ख क्षेत्रका हुन् । शिकागो विश्वविद्यालयको सेन्टर फर कल्चरल हेरिटेज प्रिजर्भेशनका खोजकर्ताहरूले अफगानिस्तानमा २९ हजार भन्दा धेरै पुरातात्त्विक क्षेत्रहरूको पहिचान गरेका छन् ।

सेन्टरका निर्देशक गिल स्टेनका अनुसार कतिपय क्षेत्रहरूमा लुटेराहरूले खनेका खाडलै खाडल छन् । तालिबानका सूचना तथा संस्कृतिका लागि कार्यवाहक उपमन्त्री अतिकुल्लाह अजिजिले लुटपाट भइरहेको दाबीलाई अस्वीकार गर्दै ऐतिहासिक स्थलहरूको रेखदेखका लागि आठ सय सुरक्षा फौजको एउटा टोली खटाइएको बताएको बीबीसीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका