जोडिनुहोस
  • होमपेज
  • ६ महिनामा प्रहरीले खोजेर बुझायो २ सय ५२ वटा मोटरसाइकल

६ महिनामा प्रहरीले खोजेर बुझायो २ सय ५२ वटा मोटरसाइकल

नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारेर धनीलाई बुझाएको छ । विभिन्न मितिमा हराएका दुई पाङ्ग्रे गाडी चालु आर्थिक वर्षको ६ महिनामा फेला पारेर धनीलाई हस्तान्तरण गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा मोटरसाइकल, स्कुटर र मोफेट धनीलाई जिम्मा लगाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार हिजो मात्रै १७ वटा दुईपाङ्ग्रे गाडी खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका १२ वटा गाडी भन्सार कार्यालयमा बुझाइएको भट्टले बताउनुभयो । चालु आर्थिक वर्षको अहिलेसम्म चोरीका २० गाडीसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।काठमाण्डौ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालीमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकण्ठ, चुनदेवी, फर्पिङ, नयाँबसपार्कलगायत ठाउँमा दुईपाङ्ग्रे गाडी फेला पारेको थियो । गाडी हराएमा ट्राफिक प्रहरीको हटलाइन नं १०३, नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका