जोडिनुहोस
  • होमपेज
  • भारतको आईटी हबु बेङ्गलोरमा पानीको सङ्कट बढ्दै

भारतको आईटी हबु बेङ्गलोरमा पानीको सङ्कट बढ्दै

भारतको आईटी हबु भनिने कर्नाटक राज्यको बेङ्गलोर सहरमा पानीको अभाव बढ्दै गएको छ । बेङ्गलोर भारतको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर पनि हो । ९५ किलोमिटर परको कावेरी नदीबाट एक सय ४५ करोड लिटर पानी बेङ्गलोर सहरका लागि ल्याउने गरिएको छ । बाँकी ६० करोड लिटर पानी बोरवेलबाट प्रयोग हुँदै आएको छ । अहिले बेङ्गोरवासीलाई दैनिक २० करोड लिटर पानी अपुग भइरहेको बीबीसीले जनाएको छ ।

कमजोर मनसुनी प्रणालीका कारण वर्षा कम हुँदा कावेरी नदीको जलस्तर र बेङ्गलोर सहरका भूमिगत पानीको स्तर लगातार घटिरहेको छ । बेङ्गलोर सहरमा गाभिएका एक सय १० गाउँमा रहने मानिसहरू सबैभन्दा धेरै पानीको सङ्कटको मारमा परेका खबरमा उल्लेख छ ।

यीमध्ये केही गाउँलाई कावेरी खानेपानी परियोजनाको चरण–४ अन्तर्गत पानी वितरण हुँदै आएको थियो । तर अहिले बहुतले भवन र घर बन्ने क्रम थपिँदै गए पनि पानीको आपूर्ति त्यहीअनुसार हुन सकेको छैन ।

पानीको सङ्कट बढ्दै गएपछि बेङ्गलोर वाटर सप्लाई बोर्डले खानेपानी स्विमिङ पुलमा प्रयोग गर्न प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमको उल्लङ्घन गर्नेलाई पाँच हजार भारु जरिबाना तिराइने खबरमा उल्लेख छ । यसअघि बोर्डले खानेपानीको प्रयोग गाडी धुन, कपडा धुन, निर्माणका काममा प्रयोग गर्न, बोटबिरुवामा हाल्न प्रतिबन्ध लगाएको थियो ।

पानीको सङ्कट बढेसँगै सूचना प्रविधि सम्बन्धित कम्पनीहरूले घरबाटै काम गर्ने व्यवस्था अनिवार्य गर्न मुख्यमन्त्रीसँग माग गरेका खबरमा उल्लेख छ । यस्तै केही ठाउँमा बहुतले भवनमा बस्दै आएकाहरूका लागि हप्तामा दुई दिनमात्रै गाडी धुन तथा आधी बाल्टी पानीले नुहाउन र आधीले शौचालय सफा गर्न भनिएको खबरमा उल्लेख छ ।

बेङ्गलोर सहरका अधिकारीले पानीको सङ्कट आउँदो सय दिनभन्दा धेरै समय नहुने बताएका छन् । कावेरी परियोजना चरण–५ अन्तर्गत पानी आउन शुरु भएपछि मे महिनासम्ममा पानीको सङ्कट हटिसक्ने अधिकारीले बताएका खबरमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका