जोडिनुहोस
  • होमपेज
  • विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

काभ्रे– काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ सञ्चालनपछि सरसफाइ तथा स्वच्छता मापदण्ड कार्यान्वयन भएका विद्यालयलाई तीन तारा घोषणा गर्न थालिएको हो ।

परियोजनाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलगाईँले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रम केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने बताइन् ।

परियोजना कार्यान्वयन गर्न सिविक फोरम नामक संस्थाले समन्वय गरिरहेको छ । उक्त कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईँ, ५ का वडाध्यक्ष कृष्णप्रसाद गौतम, ८ का वडाध्यक्ष धनबहादुर तामाङ र ९ का वडाध्यक्ष रामबहादुर लामाले बाँकी विद्यालयमा तीन तारा घोषणाका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेकाले तीव्ररुपमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य भइरहेको र पूरा भएपछि तीन तारा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकामा हाल ३३ विद्यालय सञ्चालमा छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बालबालिकाका लागि खानेपानी तथा स्वच्छता कार्यक्रम प्रभावकारी भएको बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्माले कार्यक्रम निरन्तरताका लागि विद्यालयमा आवश्यक पूर्वाधारका विषयमा अनुगमन निरीक्षण एवं प्रतिवेदन सङ्कलन भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका