जोडिनुहोस
  • होमपेज
  • चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो

चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो

गलकोट– चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

मङ्गलबारदेखि नवरात्र सुरु भएको छ । चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् ।

चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

उनका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य स–साना मन्दिरसमेत चिटिक्क पारिएको छ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उनले जानकारी दिए ।

चैतेदसैँका समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपालसँगै छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा चैतेदसैँ र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला नजिकिएसँगै आयोजकले मेलाको तयारी अन्तिम चरणमा पु¥याएको छ । चैत ३० गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने उक्त मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ । मन्दिर परिसरमा लाग्दै आएको मेलाको तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका