जोडिनुहोस
  • होमपेज
  • आसिफको शतकमा पीएनजीलाई नेपालले दियो कीर्तिमानी लक्ष्य

आसिफको शतकमा पीएनजीलाई नेपालले दियो कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी(पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको ठुलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए । पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित नतिजा निकाल्नु पर्ने हुन्छ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।

नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भुमीमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।

पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका