जोडिनुहोस
  • होमपेज
  • मौद्रिक नीति समीक्षापछि ११२ अंकले घट्यो नेप्से

मौद्रिक नीति समीक्षापछि ११२ अंकले घट्यो नेप्से

काठमाडौं । मौद्रिक नीति समीक्षापछिको लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २१.१५ अंक (१.०१ प्रतिशत) ले गिरावट हुँदा २०७०.४१ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । त्यसयता चार दिन कारोबार भएको सेयर बजारमा चार दिन नै बजार परिसूचक नेप्सेमा गिरावट भएको हो । पछिल्लो चार कारोबार दिनमा नेप्सेमा ११२ अंकको गिरावट भइसकेको छ । मौद्रिक नीतिको समीक्षाले ब्याजदर घटाउने र मौद्रिक नीति केही खुकुलो बनाउने अपेक्षामा रहेका सेयर लगानीकर्ता राष्ट्र बैंकले कसिलो नीतिलाई नै निरन्तरता दिएपछि त्यसयता सेयर बजार लगातार घटिरहेको छ ।

बिहीबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । बिहीबार उत्पादनमूलक उपसूचक सर्वाधिक १.९३ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लघुवित्त र बीमा उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।

आइतबार ३ अर्ब माथिको कारोबार भएको नेप्सेमा त्यसयताको तीन कारोबार दिनमा कारोबार २ अर्ब पुगेको छैन । बिहीबार नेप्सेमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ३८ लाख २८ हजारको कारोबार हुँदा अपी पावरको ५ करोड १३ लाख ७४ हजार र ङदी ग्रुप पावरको ४ करोड ३६ लाख ४३ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा नेप्सेमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । राप्ती हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.२३ प्रतिशतले वृद्धि हुँदा सबैको लघुवित्तको सेयरमूल्य २.०२ प्रतिशत र इमर्जीङ नेपालको सेयरमूल्य १.९४ प्रतिशतले बढेको छ ।

युनिलिभर नेपालको सेयरमूल्य ५.९१ प्रतिशतले गिरावट हुँदा सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य ५.५१ प्रतिशत र सिनर्जी पावर कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले गिरावट भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका