जोडिनुहोस
  • होमपेज
  • सन्दीप बिना नेपालको टिम घोषणा

सन्दीप बिना नेपालको टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ ।

क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेबिनाको १५ सदस्सीय टिम घोषणा गरेको हो ।

मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा करिब ६ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले ४ खेलमा ४० ओभर बलिङ गरेर १ सय ८४ रन दिएर १३ विकेट हात पारेका छन् । सन्दीपले २०१९ देखि जारी रहेको विश्वकप लिग टू मा ५० विकेट पूरा गरिसकेका छन् । उनले २३ खेलमा यो आकँडा पार गरेका हुन् ।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए।

नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपाली टोलीमा श्याम(मौसम) ढकाल र प्रतिश जी.सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

नेपाली टोली-

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका