जोडिनुहोस
  • होमपेज
  • महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ: सभामुख घिमिरे

महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारासहित मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा उनले नेपाली महिला आन्दोलनमा योगदान गर्नुहुने अग्रजप्रति पनि विशेष सम्मान र श्रद्धा अर्पण गरे ।

“जनआन्दोलनसहितका विभिन्न आन्दोलन र अभियानले नेपालमा महिलाको समावेशी नेतृत्वको अधिकार सुनिश्चित गरेको छर्लङ्ग छ”, सभामुख घिमिरेले सन्देशमा भनेका छन्, “आधाभन्दा बढी जनसङ्ख्या रहेका महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा ४१ दशमलव दुई प्रतिशत महिला निर्वाचित हुनुहुन्छ भने सङ्घीय संसद्मा ३४ प्रतिशत महिलाको उपस्थिति छ ।”

उनले सामाजिक बनावटले वर्षौंदेखि महिलालाई पछाडि पारिए पनि राजनीतिक चेतना र हाम्रा आन्दोलनको परिणामस्वरूप राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता संवैधानिक पदमा महिलाले सफल नेतृत्व प्रदान गरिसकेको उल्लेख गरे ।

महिला माथिको विभेदलाई आफ्नै आमा, दिदीबहिनी वा छोरीविरुद्धको अपमान हो भन्ने बुझ्न सके सामाजिक असमानतासमेत हट्ने बताउँदै सभामुखले भने, “अहिले पनि महिलामाथि हुने सामाजिक विभेद, अन्याय र हिंसाले समाज ग्रसित छ । महिलालाई राजनीतिक, आर्थिक र सामाजिकरूपमा मूल प्रवाहमा ल्याउन चेतना अभिवृद्धि गर्न जरुरी छ ।”

उनले यस दिवसले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास हुने अपेक्षा पनि व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका