जोडिनुहोस
  • होमपेज
  • मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो

काठमाडौं । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयको खानेपानीे समस्या अब समाधान हुनेभएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्‍याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा पिखुवा खोला मानेभञ्याङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको हो । पानीको समस्या रहेका यहाँका तीन सय १८ बढी घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

पानी खोलाबाट बस्तीसम्म पुर्‍याउनका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भएका छन् । त्यस्तै पानी वितरणका लागि ७५ र ५५ हजार लिटरका ट्याङ्की निर्माण गरिएको छ ।

यहाँ २० हजार लिटर क्षमताका छ ओटा शाखा ट्याङ्की निर्माण गरिएको आयोजनाले जनाएको छ । विगतमा पानीको खास समस्या नभए पनि २०७२ सालको भूकम्पपछि यहाँका पानीको मुहान सुक्दै गएपछि स्थानीयमा पानीको समस्या जटिल बन्दै भएको थियो । पानीका मुहान सुक्दै गएपछि यहाँका स्थानीयवासीले गाउँबस्ती नै छाड्दै गएका थिए ।

पानीका कारण बसाइँसराइ बढ्दा विगतमा आठ सय ७५ घर रहेकोमा अहिले चार सय ३५ घर मात्र बाँकी रहेको वडा नं ५ का वडाध्यक्ष जगत चौहानले बताए । पानी बस्तीमा आएपछि यहाँका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको वडाध्यक्ष चौहानको भनाइ छ ।

“मानेभञ्याङ निकै उर्वरभूमि हो”, वडाध्यक्ष चौहानले भने , “तर पानीको कारण धेरै मानिसले बस्ती छोडे । अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत मिलेको छ । स्थानीयवासीले पिउने पानी पाएका छन् ।”
लामो प्रतिक्षापछि पिउने पानी पाउँदा सहज भएको स्थानीयवासी इन्दिरा पाण्डेले बताईन । पिखुवा खोला मानेभञ्याङ आयोजना सञ्चालनमा आएपछि घण्टौँ लाइनमा बसेर पानीको जोह गर्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

“एक गाग्री पानीको जोह गर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो”, विगतलाई स्मरण गर्दै पाण्डेले भनिन, “अहिले घर÷घरमा पानीको धारा जडान भएको छ । बस्तीमा पानी आएपछि हाम्रो दैनिकी नै परिवर्तन भएको छ ।”

पानी आएपछि गाउँको मुहार नै फेरिएको स्थानीय गोमा खत्रीले बताईन । विगतमा पानीको खोजीमा एक जनाको दिन बित्ने भए पनि अहिले त्यस्तो अवस्थाको अन्त्य भएको उनको भनाइ छ । “बिहान २ बजे उठेर जाँदा बल्ल १० बजे घर आइपुन्थ्यिो”, उनले भनिन , “पानीको समस्याले धेरैले गाउँ छाडे । ढिलै भए पनि खानेपानीको सपना पूरा भयो । खेर गएको पानीलाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिएको छ ।”

लिफ्टिङ प्रविधिबाट पानी बस्तीमा लैजानु परेकाले बेला बेलामा समस्या हुने गरेको खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नगेन्द्र चौहानले बताए । विद्युत्का कारण पानी तान्ने पम्पमा जोडिएका उपकरणमा समस्या आउँदा पानी वितरणमा अवरोध हुने गरेको उनको भनाइ छ ।

“प्रविधिमा आउने समस्याका कारण पानी वितरणमा समस्या हुने गरेको छ”, सचिव चौहानले भने , “हामीसँग दक्षजनशक्ति नहुँदा उपकरण विग्रदा बाहिरबाट मान्छे ल्याउदा बढी खर्च हुन्छ । विद्युत् महसुल बढी उठ्ने भएकाले स्थानीयवासीलाई मार परेको अवस्था छ । महसुलमा छुट भए हामीलाई सहज हुने थियो ।”

आयोजनालाई सहज रुपमा सञ्चालन गर्न भूमिका खेल्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । केही स्थानीयवासीबाट नियमित रुपमा पानी आउन नसकेको गुनासो आएकाले आयोजनाको स्थलगत रुपमा अनुगमन गरेको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख देवनाथ सिहंले जानकारी दिए।

अनुगमनका क्रममा उपभोक्ता समिति गम्भीर भएर लागि परेको नदेखिएको प्रमुख सिंहले बताए । “नियमित रुपमा पानी नआएको स्थानीयवासीको गुनासोपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, उनले भने , “पानी वितरणमा उपभोक्ता समितिले लापरबाही गरेको देखियो । यहाँ भएका समस्याको बारेमासमेत समितिले कार्यालयमा जानकारी नगराएको अवस्था पाइयो । स्थानीयवासीलाई नियमित रुपमा पानी पुर्‍याउन हामी भूमिका खेल्छौँ ।”

निर्माणको काम सकिएकाले उपभोक्ता समिति निष्क्रिय झैँ बनेको उनको भनाइ छ । अनुगमनका क्रममा देखा परेका विभिन्न त्रुटि सच्याउन उपभोक्ता समितिको ध्यानाकर्षण गराएको उनले बताए । पानी वितरणलाई नियमित र थप व्यवस्थित गर्न कार्यालयले सहयोग गर्ने सिंहले जानकारी दिए ।

“हामीले योजनाका लागि लाग्ने बजेट दिएका छौँ”, उनले भने , “नियमित पानी वितरणमा उपभोक्ता समितिले खास भूमिका खेलेको पाइएन् । उपभोक्ता समितिलाई थप सक्रिय बनाउन खानेपानी योजना व्यवस्थापन समिति गठन गर्न लगाएका छौँ ।”

आयोजनामा आउने विभिन्न प्राविधिक समस्या समाधानका लागि दुई जनालाई तालिमको व्यवस्था गरिदिने कार्यालयले जनाएको छ । आवश्यक अन्य सहयोगसमेत गर्दै आएको भए पनि पछिल्लो समय उपभोक्त समितिले प्रभावकारी भूमिका खेल्न नसकेको कार्यालयले जनाएको छ ।

विद्युत् महसुल बढी आउने गरेकाले स्थानीयवासीलाई बढी मार परेको रामप्रसादराई गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राईले बताए । गाउँपालिकाले आयोजनाका कर्मचारीको तलब लगायत विषयमा केही आर्थिक सहयोग गरिरहेको उनको भनाइ छ । तर पनि सहज रुपमा योजना धान्न समस्या रहेको उनले बताए ।

“लिफ्टिङ प्रविधि अलि बढी खर्चिलो देखियो”, उपाध्यक्ष राईले भने , “बढी महसुल उठ्दा स्थानीयवासीलाई मार परेको अवस्था छ । एक परिवारले महिनामा रु एक हजार पाँच सय बढी तिर्नुपर्न अवस्था छ । यसमा विद्युत् प्राधिकरण ध्यान दिन आवश्यक छ । यही अवस्था हो भने स्थानीयवासीले पानी खानसक्ने अवस्था छैन ।”

स्थानीयवासीलाई मिटर जडान गरेर प्रतिलिटर दश पैसा लिने गरेको उपभोक्ता समितिका उपाध्यक्ष हस्तबहादुर थापाले जानकारी दिए। पानी वितरणका लागि तीन जना कर्मचारी रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका