जोडिनुहोस
  • होमपेज
  • शनिवार रौतहटमा गोली चल्दा एक जनाको मृत्यु १६ जना प्रहरी नियन्त्रणमा

शनिवार रौतहटमा गोली चल्दा एक जनाको मृत्यु १६ जना प्रहरी नियन्त्रणमा

रौतहट : रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियाँमा सडक जग्गाको विषयलाई लिएर शनिवार गोली चल्दा एकजनाको मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार धोबिनियाँमा हिजो दिउँसो रामईश्वर राय यादव र राजकुमार राय यादव पक्षबीच सडक विस्तारको विषयलाई लिएर विवाद हुँदा रामईश्वर पक्षले अन्धाधुन्ध गोली प्रहार गर्दा ५० वर्षीय राजकुमार यादवको मृत्यु भयो भने ४ जना घाइते भए।

घटनापश्चात् उक्त गाउँमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गोली चलाउने व्यक्तिको खोजी तलासीको क्रममा १६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए। प्रहरीले खानतलासीका क्रममा एउटा १२ बोरको दुईनाले बन्दुक बरामद गरेको छ।

घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका १६ जनालाई हिरासतमा लिएर अनुसन्धान कार्य भइरहेको र उक्त घटनामा निरञ्जन राय यादव, प्रताप यादव सहित ४ जना घाइतेको उपचार गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको उनले बताए।

घटनापछि संलग्न अधिकांश व्यक्ति अहिले गाउँ छोडेको बताइएको छ। धोबिनियाँ गाउँमा डरत्रासको माहोल छाएको छ।

मृतक यादवको शव नारायणी अस्पतालमा पोष्टमार्टम भइरहेको भए पनि दोषीलाई नसमातेसम्म परिवारले शव बुझ्न मानेको छैनन्। उनको शव नारायणी अस्पतालमै राखिएको छ।

धोबिनिया गाउँको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले फराकिलो बनाउने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका