जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुर औलोको उच्च जोखिममा

स्वास्थ्य/जीवनशैली

कञ्चनपुर औलोको उच्च जोखिममा

  • Sagarmatha TV
  • बुधबार, बैशाख १३, २०८०
कञ्चनपुर औलोको उच्च जोखिममा

दोधारा चाँदनी– भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ, उनले भने पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ । उनले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए । आव २०७८-७९ मा सङ्क्रमित घटेर छ मा पुगे पनि आयातीत सङ्क्रमितको सङ्ख्या ३० थियो । चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन् । 

भारतसँगको खुला सिमानाका कारण आयातीत औलो सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ लगायतका क्षेत्रमा विषादी छर्किएको उनले बताए । 

‘मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ’, भट्टले भने, ‘सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’ उनले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो औलोको सङ्क्रमण देखिने गरेको बताए । 

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिए। औलोबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन् उनले भने महाकाली अस्पतालमा आउने औलो सङ्क्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।’ कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका