जोडिनुहोस
  • होमपेज
  • चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

अन्तर्राष्ट्रिय

चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख १५, २०८०
चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

बेइजिङ — चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र र्‍यापिड सपोर्ट फोर्सेस ९आएसएफ० ७२ घण्टा युद्धविराम गर्न सहमत भएपछि विश्वका विभिन्न मुलुकले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन् ।

दशदिन लामो युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव भएको छ । सन् २०२२ को मध्यसम्ममा १३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ । चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ ।

युद्धविरामको अवधि समाप्त हुनुअघि नै सुडानबाट कम्तीमा आठ सय चिनियाँ नागरिकलाई समुद्रीमार्गबाट उद्धार गर्ने लक्ष्य रहेको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताउनुभएको छ । रक्षा मन्त्रालयका प्रवक्ता तान केफेइले पनि सुडानको अवस्था बिग्रँदै गएकाले त्यहाँबाट आफ्ना नागरिकलाई यथासक्य चाँडो उद्धार गर्न नौसेना प्रतिबद्ध रहेको बताउनुभएको छ । चिनियाँ नागरिकको जीवन र सम्पत्ति रक्षार्थ सुडानका निम्ति नौसेना परिचालन गरिएको उहाँले बताउनुभएको छ । प्रवक्ता तानका अनुसार गत सोमबार नै करिब तीन सय नागरिक सतहमार्ग भएर सुडानबाट बाहिरिएका छन् ।

सुडानको रक्षा मन्त्रालयका अनुसार दशदिने युद्धमा ५१२ जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । ग्रेटर खार्तुमका केही भागका भवन भग्नावशेषमा परिणत भएका छन् । राजधानी खार्तुमको अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले धेरै विदेशीले आफ्ना नागरिकलाई वैकल्पिक अन्य मार्गबाट उद्धार गरेका छन् । उद्धारका निम्ति खार्तुम बाहिरका साना ‘एयर स्ट्रिप’हरू प्रयोग गरिएका छन् । खार्तुमबाट ८५० किलोमिटर टाढा रहेको सुडान पोर्टबाट पनि उद्धारका काम युद्धस्तरमा भइरहेका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायहरूले सुडानीहरू चाड, इजिप्ट, दक्षिण सुडानलगायत स्थानतर्फ भागेका बताएका छन् । इण्डोनेसियाली सेनाले बुधबार सुडान पोर्टबाट ११० जना आफ्ना नागरिकलाई उद्धार गरी साउदी अरबको जेद्दा पु¥याएको छ । पछिल्लो समय सम्म ६६७ जना इण्डोनेसियाका नागरिकको उद्धार भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका