जोडिनुहोस
  • होमपेज
  • आगलागी र वन डढेलोका घटनाबाट बैशाख महिनामा १६ जनाको मृत्यु

आगलागी र वन डढेलोका घटनाबाट बैशाख महिनामा १६ जनाको मृत्यु

काठमाडौँ— आगलागी तथा वन डढेलोका घटनाबाट यो महिनामा १६ जनाले ज्यान गुमाएका छन् ।

६५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको १ गतेदेखि हिजोसम्म देशभर ५ सय २७ वटा आगलागी र ९४ वटा वन डढेलोका घटना भएका छन् ।

आगलागीमा ११ जना र डढेलोमा परेर ५ जना गरी १६ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना पनि बढ्न थालेका छन् ।

एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ वटा घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको छ । आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीविना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम उच्च हुन्छ ।

आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञको आग्रह छ । आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायविना त्यस्तो ठाउँमा जान नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा बताउनुहुन्छ ।

दमकल तथा अन्य साधन स्रोत उपलब्ध भए आगो निभाउन सहज हुन्छ । तर दमकल नपुग्ने र आगो निभाउन चाहिने साधन स्रोत नभएका ठाउँ वा वन जङ्गलमा लागेको डढेलो निभाउन हम्मेहम्मे पर्छ ।

काठमाडौँ महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख, नगर प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार डढेलो लागिरहेका बेला निभाउन जानेले हावाको बहावलाई मुख्य ध्यान दिन सके मात्रै पनि जोखिम कम हुन्छ । उहाँका अनुसार हावाको बहाव जुन दिशातर्फ छ त्यसैतर्फबाट आगो निभाउन जुट्नुपर्छ । हावाको बहाव विपरीत जाने, जङ्गलको तल डढेलो लागेको छ भने माथिबाट निभाउने गल्ती गर्नु हुँदैन ।

आगो वा डढेलो फैलिँदा भाग्ने ठाउँको सुनिश्चित गर्न पनि काठमाण्डौ महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख पण्डितको आग्रह छ । दिउँसो घाम चर्केका बेला डढेलो तथा आगो थप फैलने हुँदा सबैभन्दा पहिला आफू सुरक्षित हुनेतर्फ नै ध्यान दिन उहाँको सुझाव छ ।

घरमा आगलागी भएको छ भने त्यसबेला निभाउन खटिनेले आगोको जोखिमसँगै अन्य वस्तु, घरको छत, गारो, पर्खाल खसेर हुनसक्ने क्षतितर्फ पनि ध्यान दिनुपर्नेमा विज्ञको जोड छ । घर तथा भवन साँघुरो छ भने आगलागीका बेला अक्सिजन नै नपाएर पनि उद्धारकर्ताको ज्यान जोखिम हुन सक्छ । डढेलो तथा आगलागी नियन्त्रणमा खटिनेले सकेसम्म आगो र तातोले तत्काल नटिप्ने खालका कपडा, जुत्ताचप्पल लगाउन विज्ञको सुझाव छ । उद्धारकर्ताले आफूसँग आगो निभाउने अरु सामग्री छन् की छैनन् भनेर पनि ध्यान दिनुपर्छ ।

धेरैजसो अवस्थामा आगो पानीले नै निभाउन सकिन्छ तर कतिपय अवस्थामा पानीले मात्रै पनि आगो निभ्दैन त्यसबेला अरु उपकरणको तत्काल खोजी र व्यवस्थापन गर्नुपर्ने हुन सक्छ। गाउँघरमा उपलब्ध सामग्री तथा फायर पम्प प्रयोग गर्न सकिन्छ ।

जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिन्छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठूटा जथाभाबी नफाल्ने, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि विज्ञको आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका