जोडिनुहोस
  • होमपेज
  • चिसोमा कठ्याङ्ग्रिदै भूकम्पपीडित किरियापुत्री

चिसोमा कठ्याङ्ग्रिदै भूकम्पपीडित किरियापुत्री

आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका गणेश एमसीले शुक्रबार रातिको भूकम्पमा बुबा गुमाए । ‘घरले थिचेको आधा घण्टापछि आमालाई जिउँदै झिकेँ, तान्दातान्दै बुबाको सास गयो’ उनले भूकम्प गएको रात सम्झिए । बाबु कुमार महतराको आइतबार भेरी नदीमा अन्त्येष्टि गरेपछि गणेशलाई काजकिरिया गर्ने ठाउँको अभाव भयो । ‘बुबालाई त बचाउन सकिएन, किरिया बस्नलाई पनि घर भएन’, उनले भने, ‘त्यसपछि सबै कुरा सकिएछ भनेर रोएँ ।’

गाउँमा सबैजसो घर भत्किएकाले उनले खुला ठाउँमा नै किरिया बस्ने निर्णय गरे । पछि छरछिमेकीले जेनतेन गरी बारीमै किरिया बस्न मिल्ने गरी ओत लाग्ने ठाउँ बनाइदिए । आइतबार बेलुकीदेखि उनी बाबुको मृत्यु संस्कार पुर्‍याउन किरिया बसेका छन् । ‘किरिया बस्दा राम्रोसँग ओत लाग्ने पालसम्म छैन’, उनले भने, ‘खानेकुरा पनि छैन ।’ रुकुम आठबिसकोट नगरपालिका–११ डाँडागाउँकी ७० वर्षकी कोइली पुनको पनि भूकम्पले घर भत्किँदा मृत्यु भयो । उनलाई आइतबार तीन छोरीले भेरी नदीमा दागबत्ती दिए । तर घर पुरै भत्किएकाले उनीहरु गाउँ फर्कन सकेनन् । दागबत्ती दिएर फर्कदै गर्दा बाटोमै पर्ने चिसापानीको एउटा खेतमा पाल टागेर किरिया गर्न बसे । खेतमा प्लाष्टिक टाँगेर बनाएको ठाउँमा उनीहरु किरिया बसेका छन् । कोइलीकी छोरी हिरा पुनले भनिन्, ‘दिन त जसोतसो बितिहाल्छ, रातमा कठ्याग्रिदो जाडो हुन्छ । जति गाह्रो भए पनि किरिया त गर्न पर्‍यो नि ।’

शुक्रबार राति गएको भूकम्पको रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । मृतकका परिवारहरु एकातिर आफन्त गुमाएको पीडामा छन् । अर्कोतिर आफ्नो मान्छेको मृत्युसंस्कारमा विधि नपुग्ला भन्ने चिन्तामा छन् । उनीहरु धेरैजसो बारी, खेतमा प्लाष्टिक टाँगेर काजकिरियामा बसेका छन् । चिसो समयमा उनीहरुलाई न्यानो लुगाको अभाव छ । खानेकुरा जुटाउन पनि समस्या छ । कति मृतकका परिवारका सदस्य नभएपछि आफन्तले काजकिरिया गरेका छन्  ज्यामिरेकोटकी तिला मल्लको घर भूकम्पले भत्काउँदा श्रीमान, दुई छोरी, एक छोरा च्यापिए । दुईघण्टा पछि गाउँलले उद्धार गर्दा उनी, श्रीमान् र छोरा जिउँदै उद्धार गरिए । तर १४ वर्षकी छोरी प्रेमा, ११ वर्षकी चन्द्रकला र उनकै घरमा सुतेका छिमेकी १४ वर्षका बालक विराज मल्ल मृत फेला परे । उनका श्रीमान् गम्भीर घाइते भए । ढुंगा माटोले लामो समय च्यापेले तीला पनि घाइते छिन् । उनका श्रीमान्लाई थप उपचारका लागि सुर्खेतबाट काठमाडौं लगियो । तिलाका दुई छोरीको किरियामा ७० वर्षका ससुरा इड्दु मल्ल बसेका छन् । छोरा अस्पतालमा मर्ने न बाँच्ने अवस्था छ’, उनले भने, ‘बुहारी पनि ढुंगाले च्यापेर घाइते छे । नातिनीका किरिया गरिदिने अरु नभएपछि म आफैं बसेँ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका