जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छाड्यौँ : लिङ्देन

प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छाड्यौँ : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले यस पटक देश भित्रकै दलले सरकार निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको दाबी गरेका छन् ।

लिङ्देनले देशमा बाह्य चलखेल तीव्र रूपमा बढेको, भ्रष्टाचारको चङ्गुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी भएको बताएका हुन् ।

सोमवारबाट काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, ‘आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश सङ्कटको भुमरीमा फस्दैछ । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता सङ्कटग्रस्त छ । कहिले पराधीन नभएको देशमा बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रूपले बढेर गएको छ । भ्रष्टाचारको चङ्गुलमा देश फसेको छ । लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हाबी छ । विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत थियो भन्ने राप्रपाको ठहर देशमा विकसित घटनाक्रमले स्वतः प्रमाणित गरिदिएको छ । यस पटक पहिलो पटक नेपालका राजनीतिक दलले आफ्नै बलमा सरकार निर्माण गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्नु सकारात्मक हो, तर सरकारको नेतृत्व गरेका प्रधानमन्त्री स्वयं पुरानै अवस्थामा फर्किएर गोलचक्करमा परेपछि हामीले तत्काल सहकार्य छोडेका थियौँ ।’

उनले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर सङ्कटतर्फ उन्मुख भएको बताउनुभएको हो । मुलुकका तीन प्रमुख अङ्गहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको लिङ्देनले जिकिर गरे । उनले भने, ‘प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर सङ्कटतर्फ उन्मुख छ । मुलुकका तीन प्रमुख अङ्गहरूका बीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको छ । कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अंगमा भ्रष्टाचार र भ्रष्टाचारमा प्रायः सबै प्रमुख राजनीतिक दलहरूको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था होइन । आफू भन्दा कमजोर छिमेकी युक्रेनमाथि रुसको आक्रमण जति भर्त्सनायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा पनि लिनुपर्नेछ । वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको छ । नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक स्थलमा परिणत भएको छ । सत्ता पक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापका कारण हुने नोक्सानीको मूल्य केवल राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन, सिंगो देशले चुकाउनु पर्छ ।’

अध्यक्ष लिङ्देनले आफूलाई अग्रगमनका संवाहक, लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण नै देश सङ्कटको भुमरीमा फसिरहेको उल्लेख गरे । अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता सङ्कटग्रस्त बनेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका