जोडिनुहोस
  • होमपेज
  • बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

काठमाडौं । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् ।

रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगायत यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । स्थानीयले दिएको जानकारीअनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ पर्यटक बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा छन् ।

शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री तथा सवारी साधनलाई समस्या भएको हो ।

बैसरीमा दैनिकजसो खस्ने पहिरोले बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले सास्ती खेप्दै लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन् । सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो ।

वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग गर्दै आएका छन् ।

वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवतजावत र कृषिउपज निकासी प्रभावित भएको छ ।

जिल्ला कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बेनी–जोमसोम सडकमा खास काम नभई यात्रा गर्न नहुने बताए । वर्षा भइरहेको र पहिरो खसिरहेकाले पानी पर्न बन्द नहुन्जेल सडक स्थायी रुपमा खुलाउन समस्या भएको उनको भनाइ छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताए ।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्नेबित्तिकै सडकमापहिरो खस्ने समस्या छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका