जोडिनुहोस
  • होमपेज
  • साउनमा बजेट खर्च २ र राजस्व सङ्कलन ६ प्रतिशत

साउनमा बजेट खर्च २ र राजस्व सङ्कलन ६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ ।

यही अवधिमा सरकारको राजस्व सङ्कलन ८८ अर्ब १३ करोड ९० लाख बराबर छ । चालु आर्थिक वर्षमा सरकारले कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।

जसमध्ये चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ रू चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो । साउन मसान्तसम्ममा चालुतर्फ रू १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पूँजीगततर्फ ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ ।

यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ ।

जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ रू ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ ।

महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका