जोडिनुहोस
  • होमपेज
  • चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

भक्तपुर । केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् ।

उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

उनका अनुसार चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापको राजेन्द्र थापा, शुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको उच्च जोखिममा परेका छन् । ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका छ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पोहिरोको जोखिममा परेको प्रमुख खत्रीको भनाइ छ ।

पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोलीनै खटाएको उनले जानकारी दिए । “नगर क्षेत्रमा पहिरोको जोखिममा परेका घरको विवरण सङ्कलन भइरहेको र स्थानीय तहबाट सूचना प्राप्त हुनासाथ नगरपालिकाले प्राविधिकसहितको विपद् व्यवस्थापन टोली खटाउने काम भइरहेको छ”, प्रमुख खत्रीले भने ।

उनका अनुसार विपद् व्यवस्थापन टोलीले पहिरो निरीक्षण गरी सडक तथा घर बस्ती जोगाउन आवश्यक पहल तत्कालै सुरु गर्ने गरेको छ । नगरपालिकाले पीडितलाई तत्कालै त्रिपाल, प्लास्टिक बोरा, पाइप वितरण गर्ने तथा पहिरो रोकथामका लागि आवश्यक कार्य गरिरहेको उनको भनाइ छ । दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले टेवा पर्खाल लगाउने काम पनि गरिरहेको उनको भनाइ छ ।

प्रमुख खत्रीले नगरपालिकाले विपद् राहत कोषका लागि चालु आर्थिक वर्षमा रु तीन करोड बजेट छुट्याइएको जानकारी दिए । विपद् रोकथाम अन्तर्गत पूर्वतयारीका लागि रु ६५ लाख ५० हजार, विपद् व्यवस्थापनका लागि रु तीन करोड ६५ लाख ५० हजार र नगरपालिकासँगको समन्वयमा आइसेट नेपालले रु ३६ लाखको कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

नगर प्रमुख खत्रीले भने, “नगरपालिका र वडामा विपद् व्यवस्थापन समिति गठन गरेका छौँ, विपद्सम्बन्धी अभिमुखिकरण, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनासम्बन्धी कार्यशाला सम्पन्न गरेका छौँ ।”

उनले राहत सामग्रीदेखि आधारभूत खोजउद्वार सामग्री भण्डारण गरिएको पनि जानकारी दिए । नगर प्रहरी र प्राविधिकसहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको साथै स्थलगत निरीक्षण र तत्काल सहायता वितरण पनि भइरहेको उनको भनाइ छ ।

नगरपालिकाका विपद् व्यवस्थापन विज्ञ दिनेश थापाले समुदायमै उद्धारकर्ता टोलीको तयारी गर्ने, नगर प्रमुखको उद्देश्य अनुसार विपद् जोखिम नक्शाङ्कन तथा विश्लेषण गर्ने काम भइरहेको बताए ।

साथै विपद् न्यूनीकरणका लागि योजना बनाउने, समुदायको सङ्कटासन्नता र क्षमताको विश्लेषण गरी रणनीतिक कार्य योजना एवं विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने र स्थानीय उत्थानशील कार्यढाँचा बमोजिम विपद् उत्थानशील नगरपालिका बनाउने अभियान पनि सुरु भएको उनको भनाइ छ ।

सूर्यविनायक(१० चित्तपोलको बस्ती पनि पहिरोको जोखिममा परेको छ । नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार चित्तपोल, गुण्डु र सिफाडोल क्षेत्रका बस्ती पहिरोको उच्च जोखिममा परेको बताए ।

पहिरोको जोखिममा परेका नौ घरका लागि पहिरो रोकथामका लागि सामग्री पठाइएको उनको भनाइ छ । साथै स्थलगत निरीक्षण गरी आवश्यक सहयोग पनि भइरहेको साथै नगरपालिकाले उद्धार टोली तयारी अवस्थामा राखेको समेत उनले जानकारी दिए । सूर्यविनायककै घ्याम्पेडाँडा रानीकोट सडकमा दैनिक पहिरो जाँदा रानीकोटका पर्यटकीय बस्ती जोखिममा परेका छन् ।

काभ्रेपलाञ्चोक पनौती कुशादेवीबाट आउने सडकमा सवारी आवागमन पनि अवरुद्ध भएको होटल व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका