जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन् ।

सभामुख घिमिरेले बुधबार राति आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग भेट गरेका हुन् । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९मा कुटनीतिक सम्बन्ध स्थापनाभएको थियो ।

दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले नेपाल भ्रमण गरेका थिए ।

सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुई देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

“दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,” सभामुखले भेटमा भने, “संसदीय अभ्यासको आपसी अनुभव आदानप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरु हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।”

सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानूनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिए ।

उनले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारी दिए ।

“त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्”, सभामुखको घिमिरेले भने । उनले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारीबीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संङ्, अन्तर–व्यवस्थापिका संघजस्ता बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखे । आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गरे ।

उनले नेपाल प्राकृतिकरुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुक आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गरे ।

उनले आयरल्याण्डमा दुई देशको संसदीयमैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदानप्रदानमा जोड दिए ।

आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका एक सय ६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आइरिस अनुदानमार्फत समावेश गर्ने बताए ।

सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले दुई देशबीच कृषि र खाद्यप्रविधिको आदानप्रदानको सम्भावना रहेको उल्लेख गरे । सभामुख घिमिरेले बुधबार नै आवास, स्थानीय सरकार तथा सम्पदामन्त्री दर्राघ ओब्रायनसँग भेट गरेका थिए ।

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका थिए ।

सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी छन् ।

सभामुख घिमिरेले यसअघि माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका थिए । औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका