जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड

काठमार्डौ । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन लागिएको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षरोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ ।

महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको बताईन । यस अभियानलाई वडा तहदेखि टोलसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उनले जानकारी दिईन। उनले भनिन, “हरियाली प्रवर्द्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ ।”

वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको हो । हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छन् । यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताईन। हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ ।

वृक्षरोपण र सरसफाइ अभियानमा प्रमुख जिल्ला अधिकारी, महानगरका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, सम्बन्धित टोलका प्रतिनिधि एवं स्थानीय सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका