जोडिनुहोस
  • होमपेज
  • ३२ जना घुँडाको बिरामीको निःशुल्क प्रत्यारोपण

३२ जना घुँडाको बिरामीको निःशुल्क प्रत्यारोपण

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ । थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका ३२ बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।

लुम्बिनीस्थित राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा सोमबार १४ र मङ्गलबार १६ बिरामीको घुँडाको सल्यक्रिया गरिएको थियो ।

घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जनासहित ४५ जनाको टोली थाइल्याण्डबाट आएको थियो । ‘मानवताका लागि प्रेम’ नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज अस्पताल एक सय ३५ वर्ष पुरानो हो । सिरीराज अस्पतालका प्रा। डा। किरातीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गरेका हुन् ।

घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकको पहलमा पहिलोपटक स्वास्थ्य शिविर गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले थाइल्याण्डको चिकित्सक टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठूलो योगदान दिएको बताए । उनले बुद्धको उपदेश नै मानवसेवा भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताए । कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिकरुपमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकामा थाइल्याण्डका बौद्ध ध्यान गुरु भिक्षु सुधर्मले खुसी व्यक्त गरे ।

नेपालमा स्वास्थ्य शिविर सञ्चालनका समन्वयकर्ता भिक्षु फ्रा अनिल सुगन्धले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज अस्पतालका चिकित्सक प्रोफेसर किरातीको अगुवाइमा स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताए । उनका अनुसार डा। किराती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्याण्डका पनि ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोचअनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताए । लुम्बिनी आएर बिरामीको उपचार गर्न पाउँदा निकै खुसी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा। किराती सि वानिचले बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगको निःशुल्क उपचार सेवा स्थानीयले पाएको बताए । उनले लुम्बिनी र बुद्धसँग जोडेर विहारले यस्ता कार्यक्रम बढाउनुपर्ने बताए । सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा सुबोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महँगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफूको अस्पतालमा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका