जोडिनुहोस
  • होमपेज
  • प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

महोत्तरीमा प्रहरीले हानेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।

दुबैजनालाई बायाँ खुट्टामा गोली लागेको छ । उनीहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरु यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुबैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो । प्रहरीका अनुसार सर्लाहीको संग्रामपुर भन्ने स्थानमा आइपुग्दा महोत्तरी प्रहरीको गाडी बिग्रिएको थियो । त्यसपछि सर्लाही प्रहरीको गाडी मगाइएको थियो महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा पुनः महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले बताएको छ ।

७/८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए । त्यसक्रममा घरपरिवारका सदस्यहरुलाई कुटपिट गरी ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती भएको प्रहरीको भनाइ छ ।

सोही घटनाको अनुसन्धान गर्दै जाँदा डाँका गर्ने मध्येका शक्ति पासवान र अजय पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गर्ने बेला शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउण्ड गोली समेत बरामद भएको थियो । पक्राउ परेका दुबैजनामाथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका