जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेश सभाद्वारा प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित

कोशी प्रदेश सभाद्वारा प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित

कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो ।

यो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नियावली, २०७४ को पहिलो संशोधनसमेत नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गर्नुभएको थियो । त्यो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्तुत गर्दा सदनले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिस्थापन विधेयकअनुसार चालु आवका लागि कुल ३६ अर्ब ७० करोड ८७ लाख २५ हजार रुपैयाँको बजेटमा पुँजीगत खर्च २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र चालु खर्च १६ अर्ब ३१ करोड ३६ लाख ४३ हजार रुपैयाँ विनियोजन भएको छ । बजेटमा तीन करोड ४७ लाख ८५ हजार रुपैयाँ थप व्ययभार हुने उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्नेगरी बजेट विनियोजन गरेको दाबी गर्नुभयो । समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्नेगरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै उहाँले विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गर्नुभयो ।

मानवपुँजीलाई उच्च प्राथमिकतामा राखी गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित भएको बताउँदै उहाँले राजस्वको आयव्ययमा सामान्य परिमार्जन गरेको जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिमार्जन गरी पूर्वतः मुख्यमन्त्रीले समावेश गर्नुभएको महत्त्वपूर्ण योजनामा कुनै फेरबदल नगरी २० लाख रुपैयाँभन्दा मुनिका योजना हटाइ अरू योजनाका लागि स्रोतको सुनिश्चितता गरेको जानकारी दिनुभयो । बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका