जोडिनुहोस
  • होमपेज
  • नौमती बाजा बजाउँदै महिला समूह

नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उनी आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थालेकी छन् ।

सोही ठाउँका वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताइन् । “गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन”, उनले भनिन्– “ पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ ।” गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उनले बताइन् ।

उनीहरूमात्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ । विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ । मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहेका छन् । अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ ।

विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो । पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुटेका छन्।

बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाएका छन् । यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहका अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत रु २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताइन् ।

मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो । सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो ।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताइन् । “हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ”, उनले भनिन्, “अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ ।” परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उनको भनाइ छ । उनले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताइन् ।

महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । “मदानेले महिलालाई नौमती बाजाको सीप सिकाएर पहिचान बनायो”, उनले भने, “अन्य पालिकाले पनि आफ्ना छुट्टै खाले पहिचान बनाउन आवश्यक छ ।” रुचिअनुसारका पेसामा अगाडि बढ्नु आफैँमा सकारात्मक भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका