जोडिनुहोस
  • होमपेज
  • जाजरकोट भूकम्पको पीडा स् छोरा खोरमा, परिवार त्रिपालमा

जाजरकोट भूकम्पको पीडा स् छोरा खोरमा, परिवार त्रिपालमा

जाजरकोटको हिमाली बस्ती बारेकोट गाउँपालिका–४ रावतगिरी गाउँको झण्डै बीचमा भूकम्पले चिरा चिरा परेको घर छ । त्यही चिरा परेको घरछेउ भन्दा अलि पर जस्तापाताको खोर पनि छ । खोर गाईबाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन । न त त्यहाँ चराचुरुङ्गी वा कुखुरा पाल्नलाई निर्माण गरिएको हो । यो खोरभित्र हुनुहुन्छ १८ वर्षीय किशोर हेमराज रावत ।

रावतगिरी गाउँका कालीबहादुर रावतका जेठो छोरा हेमराज मानसिक रोगी भएका कारण भूकम्पले भत्काएको घरबाट छुट्टै टहरामा उहाँलाई थुनिएको हो । कालीबहादुरको परिवारको वडाले दिएको त्रिपाल नै आश्रयस्थल हो भने छोरा हेमराज भने जस्तापाताको घेरबारमा बनाइएको खोरमै बस्नुहुन्छ । यो खोर भने ६ वर्ष अघि नै बनाइएको हो ।

‘पहिले राम्रै बोल्ने गरेको, एकदमै धेरै चञ्चले स्वभावको उसलाई ५ वर्षको उमेरमा हन्हन्ती ज्वरो आएर लखतरान परेपछि उपचारको लागि साथी संस्थाको सहयोगमा काठमाण्डौ पनि पुर्‍यायौँ । तर, औषधि खुवाएपछि बोली रोकियो’ हेमराजका बुबा कालिबहादुरले भन्नुभयो ।

‘मानसिक रोग पनि हो भनेर त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल हुँदै पाटनको मानसिक अस्पतालसमेत धायौँ । घर फर्काएपछि अस्भाविक तरिकाले चल्ने, मातिने, उफ्रिने, पछारिने, अरु साथीहरुलाई घोच्ने, पिट्ने गर्न थालेपछि धौ धौ थाम्ने गरेका थियौँ । अहिले जवान भएपछि थाम्न झनै गाह्रो भयो’ कालिबहादुरले सुनाउनुभयो ।

परिवारका अरु सदस्यसँग घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहरुलाई झम्टिने, दाउरा वा हातहतियारले हान्दिने, गाईबस्तुलाई दाँतले टोक्ने गर्न थाले पछिल्लो ६–७ वर्षदेखि छुट्टै खोर बनाएर खोरमा राखिएको हो । हेमराजको यो अवस्था देखेर गाउँपालिकाले खोर नै बनाइदिएको छ । परिवारका अरु सदस्यले थाम्न नसकेको कारण कालिबहादुरले घर छोड्न नपाएको सुनाउनुभयो ।

‘दिउँसो थुन्छौँ, साँझ नजिकै ओछ्यानमा सुताएको बेला जुनेली रातमा उठेर हिँड्दै गर्ने भएको छोरोलाई रेखदेख गर्न हामी सक्दैनौँ हेमराजको बुबा नै हुनुपर्छ’ हेमराजकी आमा तुल्सीले भन्नुभयो ।

‘मानसिक रोगी छोरोको रेखदेखमा समय दिन परेको कारण बेलाबेला गाउँमै खुलेका मजदूरी गर्न वा मुग्लान् जान पनि पाउँदिन । छोराकै रेखदेखमै समय बितेर कमाइकाज पनि गर्न पाएको छैन’ कालिबहादुरले आफ्नो समस्या दर्शाउनुभयो, ‘पीर पहिले पनि थियो, अहिले भूकम्पले घर भत्काएपछि झनै बिजोग छ ।’

‘सक्दो जति सबै प्रयास गर्‍यौँ, ५ रोपनी जग्गा र सुनचाँदी समेत गरी करिब १२ लाख रुपैयाँ खर्च भयो । बिरामी नभएको भए उमेर बढेर तन्नेरी हुँदै गर्दा परिवारको भरोसा बन्थ्यो तर मानसिक रोगी भएको कारण कुनै अप्रिय घटना गराइदेला कि भनेर बाआमालाई चिन्ता छ’ सोसेक नेपालको पुनःस्थापना सहयोग कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता लक्ष्मी शाहीले भन्नुभयो ।

खोरमा थुनिएका हेमराज चाहिँ कालिबहादुरका जेठो सन्तान हुनुहुन्छ । कालिबहादुरका अरु चार जना सन्तान छन् । उनीहरु सबै गाउँकै भगवती मावि खेतलवाला थानमा पढ्छन् ।

हेमराज समेत ४ सन्तानका अभिभावक कालिबहादुर र तुल्सी दम्पतिको मुख्य पेशा भने कृषि हो । औषधिका लागि बेचेको बाहेक अब ४ रोपनी जग्गामा हिउँ परे दुई खेती गरी मुश्किलले तीन महिना खाना पुग्छ, एउटा थारो भैँसी छ, खेती लाउन गोरु अरुको मागेर ल्याउने गरेको तुल्सीले बताउनुभयो।

‘उपचार र रेखदेख गरिदिने कोही संस्था वा निकाय भए आफूले उपार्जनको काममा समय दिनसक्थेँ । जेठो छोरा त यस्तै भयो । अरु छोरछोरीको शिक्षादीक्षा राम्रो गर्न सकिन्थ्यो, कहीँ कोही छन् भने मद्दत चाहियो, कालिबहादुरले सहयोगको लागि अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका