जोडिनुहोस
  • होमपेज
  • सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा नेपाल र श्रीलङ्काबीच छलफल

सार्क र बिमस्टेकलाई बलियो बनाउने विषयमा नेपाल र श्रीलङ्काबीच छलफल

नेपाल र श्रीलङ्काबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकलाई बलियो बनाउने विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच आज बिहीवार काठमाण्डौमा भएको भेटवार्तामा सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको हो । नेपाल र श्रीलङ्कालाई क्षेत्रीय सहयोग सङ्गठनहरू निकै महत्त्वपूर्ण हुने भएकाले सार्क र बिमस्टेकलाई चलायमान बनाउन छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । यसका लागि सार्क र बिमस्टेकका सदस्य देशहरूसँग छलफल अघि बढाउने विषयमा पनि कुराकानी भएको उहाँको भनाइ छ ।

छलफलमा द्विपक्षीय सन्धिहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षालगायतका विषयमा पनि कुराकानी भएको मन्त्री साउदले बताउनुभयो । भेटमा संयुक्त राष्ट्र सङ्घ र अन्य बहुपक्षीय फोरमहरूमा नेपाल र श्रीलङ्का एकजुट भएर अघि बढ्ने सम्भावनाका विषयमा पनि कुराकानी भएको छ ।

नेपाल र श्रीलङ्काबीच अहिलेसम्म सधैँ सौहार्दपूर्ण सम्बन्ध रहेको र यसलाई निरन्तरता दिनुपर्नेमा पनि दुई जना मन्त्री सहमत हुनुभएको मन्त्रालयले जनाएको छ । गौतमबुद्धको जन्मस्थल नेपालमा अहिले पनि धेरै श्रीलङ्काली पर्यटक आइरहेको सन्दर्भमा पर्यटन प्रवर्द्धन र हवाई सम्पर्क विस्तारको बारेमा पनि परराष्ट्रमन्त्री साउद र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच छलफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका