जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जालमा फेक आईडी बनाउने वा विभत्स फोटो शेयर गर्नेलाई ५ लाख जरिबाना

सामाजिक सञ्जालमा फेक आईडी बनाउने वा विभत्स फोटो शेयर गर्नेलाई ५ लाख जरिबाना

काठमाडौं । अब सामाजिक सञ्जालमा फेक आईडी बनाउने वा प्रयोग गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ ।

सामाजिक सञ्जालको प्रयोग तथा नियमनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयक मस्यौदामा यस किसिमको प्रावधान राखिएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न तथा त्यसको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्न सक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न विधेयक तर्जुमा गरिएको प्रस्तावनामा उल्लेख छ ।

सामाजिक सद्‍भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाई त्यसको सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न आवश्यक कानूनी व्यवस्थाको रूपमा विधेयकको तयारी थालिएको हो ।

सामाजिक सञ्जालमा साइबर बुलिङ, सामाजिक सद्‍भाव र सहिष्णुतामा आँच आउने कार्य गर्ने, बालश्रम, मानव बेचबिखन, बहुविवाह वा जातीय छुवाछुतलाई प्रोत्साहन गर्ने कार्यलाई विधेयकमा दण्डनीय मानिएको छ ।

त्यस्तै महिला, बालबालिकालाई हानी पुर्‍याउने सामग्री प्रकाशन वा प्रसारण गरे, लागु औषध सेवन तथा कारोबार, जुवा खेल्न वा खेलाउन प्रोत्साहन गरेको खण्डमा समेत पाँच लाख रुपैयाँसम्म जरिबाना लाग्नेछ ।

त्यस्तै आतङ्कवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण, कसैको आईडी वा सूचना ह्याक, फिशिङ तथा इम्पोस्टर स्क्याम, बीभत्स तस्विर, भिडिओ पोस्ट वा शेयर, निर्वाचनलाई प्रभावित पार्ने कार्य गरेको खण्डमा समेत सोही बराबरको जरिवाना लाग्ने बताइएको छ ।

यस बाहेक विपद्को समयमा अफवाह फैलाउने, अश्लील, मित्थ्या वा भ्रामक सामग्री प्रकाशन तथा प्रसारण, मानहानि, अर्काको कुरा सुन्ने वा अडिओ रेकर्ड गर्ने, अनुमति बिना एकको तस्विर अर्कोलाई दिने वा बिक्री गर्ने, गाली बेइज्जती, वैयक्तिक गोपनीयता भङ्ग गर्दा समेत यो विधेयक अनुसार कसुर ठहर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका