जोडिनुहोस
  • होमपेज
  • यसरी पक्राउ परे ‘लिटल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जङ, ५ करोडको ल्यान्डक्रुजर गाडी !

यसरी पक्राउ परे ‘लिटल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जङ, ५ करोडको ल्यान्डक्रुजर गाडी !

पुष्कर खतिवडा
काठमाडौं – बाराको एकान्त बनमा एउटा ठूलो पीपलको बोट मुनि करीब १९ बर्ष अघि सेतो रङको पातलो कपडा लगाएका एक कलिला तपस्वी आँखा बन्द गरी ध्यान मग्न थिए । त्यसबेला धेरैले उनलाई ‘लिटल बुद्ध’का उपमा दिए ।

एकान्त वनमा शान्त भई ध्यानमग्न ति तपश्वी बिस्तारै विश्वभर चिनिन थाले । तर तपश्वीको भेषमा ध्यानमग्न ति बालक जसैजसै ठुला हुदैँ गए उनका अपराधहरु बिस्तारै बाहिरन थाल्यो । अनुयायीलाई बलात्कार गरेको, हत्या गरेको र बेपत्ता पारेको लगायतका अभियोग, आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई लाग्न थाल्यो । तिनै विवादित धर्मगुरु रामबहादुर बम्जनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीलाई छक्याएर लुक्न सफल हुँदै आएका बम्जन ४ वर्षको खोजीपछि सिआइबीको फन्दामा परेका छन् । बुढानीलकण्ठस्थित हात्तीगौँडाबाट पक्राउ परेका बम्जन प्रहरी पुगेपछि दुई तला माथि बाट हाम फालेर भाग्न खोजेका थिए । तर सीआईबीको टोलीले उनलाई भुइँतलाबाट पक्राउ गर्याे ।

पक्राउ परेका बम्जनले आफू कहिले भारतस्थित सिक्कीमको जंगल, कहिले सिन्धुली र मकवानपुरको जंगलमा बस्दै आएको प्रहरीलाई बताएका छन् । पछिल्लो समय आफ्नो सन्तान जन्मिएको थाहा पाएपछि काठमाडौं आएका उनी भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको बताएका थिए। एक महिनाअघि आफ्नो सन्तान जन्मिएको थाहा पाएपछि बम्जन काठमाडौं आएको आशंकामा प्रहरीले उनकी श्रीमतीलाई ट्रयाक गरिरहेको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।

बम्जन हात्तिगौंडास्थित घरमा श्रीमती र छोराछोरीसहित बसेका थिए । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । उनीविरुद्ध पक्राउ पूर्जी जिल्ला अदालत, सर्लाहीबाटै जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी गरिएको हो ।

बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको हो । यस्तै बम्जनको घरबाट २० वटा मोबाइल, २ वटा ल्यापटप, ५ वटा आईप्याड तथा ट्याब र १५ वटा पेनड्राइभ पनि बरामद भएको छ । ति मध्ये बम्जनले व्यक्तिगत प्रयोजनका लागि १४ वटा मोबाइल बोक्ने गरेका थिए ।

यतिमात्र होइन बम्जन ५ करोड पर्ने ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा समेत थिए । यसका लागी उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ त एडभान्स नै बुझाएका थिए । जबकी प्रदेश ३-०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी उनी चढ्ने गरेका थिए । यस अलावा उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ ।

बम्जन पक्राउ परेपछि उनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी पुगेकी थिइन् । उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरिन् । यस्तै बम्जनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा ठूलो संख्यामा उनका अनुयायीहरु सीआईबी पुगेका थिए । उनका अनुयायीहरुका कारण सीआईबीमा भीड लागेपछि प्रहरीले उनीहरुलाई हटाएको थियो।

यस्ता छन् रामबहादुर बम्जन माथि लागेका आरोपहरुः
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै २०७५ साल पुस १८ गते किटानी जाहेरी परेको छ । यस्तै बाराका ३४ वर्षीय सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि बम्जनमाथि छ । उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरीको अनुमान छ ।

सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनविरुद्ध उजुरी समेत परेको थियो । बम्जनविरुद्ध ५ परिवारको उजुरी छ । आश्रममा बस्दै आएका ३ युवती र २ युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएका छन् । बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेनीस्थित २० रोपनी भन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए ।

सिआइबीले बम्जनलाई पक्राउ गर्न २०७७ असार ४ गते छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नु अघि नै भागेका थिए । प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा मारेको थियो । प्रहरीले त्यहाँ बेपत्ता मध्येका एक, हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो ।

करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा प्रहरीले ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका प्रहरीले गरे पनि थप प्रमाण फेला पार्न भने सकेन । बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ गते पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाको खोजी गर्न सरकारसंग माग गरेका थिए ।

बम्जनका कर्तुत यतिमात्रैमा सिमित छैन । आफूलाई तपस्वी भनेर चिनाउने बम्जन, २०६२ जेठदेखि पाँच वर्ष निराहार तपस्या गर्ने भन्दै बाराको जंगलमा बसेका थिए । तर ध्यान शुरू गरेसँगै उनी विवादमा तानिए । २०६७ साउनमा हलखोरिया जंगलमा च्याउ टिप्न गएका १७ सर्वसाधारणलाई नियन्त्रणमा लिई कुटपिट गरेको, सर्वसाधारणलाई हातपात गर्ने र बन्धक बनाउने गरेको, २०७१ भदौमा निजगढका उत्तिम गुरो र सोनम कुमरलाई रातभर जंगलमा बाँधेर राखेको लगायतका दर्जनौं आरोप बम्जन माथि छ ।

यस्तै २०६९ सालमा बोक्सीको आरोपमा स्लोभाकियन नागरिक मारिची भनिने टाकाक सुसाना र सिन्धुपाल्चोककी एक आनीलाई २ महीना बन्धक बनाएर पैसा असुलेपछि प्रहरीले उद्धार गरेको थियो । बम्जनले नागरिकता नबनाइदिएको भन्दै आफ्ना दाजु गंगा र दिदी राजकुमारीलाई समेत कुटपिट गरेका थिए भने गाउँकै अर्का एक जनालाई तरबारले हानेर घाइते बनाएका थिए ।

बम्जन कुटपिट र लूटपाटमा मात्रै सीमित थिएनन् । उनले नाम फेरेर धर्म संघ बम्जनको नाममा नागरिकता र राहदानी लिने प्रयास समेत गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय, बाराले अस्वीकार गरेपछि आफ्ना अनुयायीहरूलाई सडकमा उतारे । बम्जनले चारकोसे वनको ५ सय हेक्टरभन्दा बढी वनक्षेत्र काँडेतारले घेरेर नियन्त्रणमा लिएका थिए ।

जिल्ला वन कार्यालय र प्रशासनले बम्जनलाई वन प्रवेशमा रोक लगाएपछि पुनरावेदन अदालत, हेटौंडाले २०७१ जेठमा अन्तिम फैसला नहुन्जेल ध्यानबाट विस्थापित नगराउनू भन्ने आदेश दिएको थियो । त्यसपछि उनी पुनः हलखोरियामा बस्न थाले । २०७० जेठमा हलखोरिया राष्ट्रिय वन भएको र त्यो महत्वपूर्ण जैविक वासस्थान भएकाले उक्त ठाउँमा कुनै पनि निर्माण र उपभोग गर्न नदिनू भन्ने सचिवस्तरीय निर्णय समेत भएको थियो । त्यसबेला तपस्यास्थलको वनलाई ‘धार्मिक वन’ घोषणा गर्न माग गर्दै बम्जनका अनुयायी आन्दोलित भएका थिए ।

स्थानीयमाथि लगातार कुटपिट तथा सरकारी वनमा गुम्बा र स्तूप निर्माण हुन थालेपछि उक्त क्षेत्रलाई शंकास्पद भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदा बम्जन सिन्धुली पुगेका थिए । त्यस पछि बम्जनको भाग्ने शिलशिला कायमै रहेको थियो ।

२०७५ सालमा प्रहरी अनुसन्धान तीब्र भइरहेका बेला बम्जनको बोधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिहरुले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । लामा लगायतले दाहाललाई बुझाएको ज्ञापन–पत्रमा बम्जनको प्रसङ्ग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाइएको थियो । गृहमन्त्री थापालाई पनि सोहीअनुरुप ब्रिफिङ गरिएको थियो । त्यस पछि धार्मिक विषय भएकाले बलियो प्रमाण बिना बम्जनविरुद्धको कारबाही अघि नबढाउन प्रहरीले निर्देशन पाएको थियो । त्यसयता जोगिँदै आएका बम्जन पाँच वर्षपछि पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका