जोडिनुहोस
  • होमपेज
  • नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ ।

नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युत्गृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७।४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युत्गृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो । प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ । सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताए । ‘टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ’, उनले भने, ‘माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छौं ।’

नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । बाँध, सुरुङ, विद्युत गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । छोटेपामा निर्माण भएको डिसेन्डर ९बालुवा थिग¥याउने पोखरी० मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत गृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ ।

विद्युत गृह र छोटेपाको बाँधसहित पाँचवटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । दुईवटै आयोजनाको प्रवद्र्धक कम्पनी एउटै हो । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत गृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ ।

दुई हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुई वटै आयोजनाको विद्युत गृह परिसरमा स्विचार्ड बनाइएको छ । बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । रु १३ अर्ब लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन् ।

नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताए । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका